प्रधानमन्त्री ओली गठबन्धन तोड्ने पक्षमा हुनुहुन्न, देउवाले भनेको मान्छे गभर्नर बन्छः रामहरि खतिवडा (भिडिओसहित)


काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले आगामी २०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन नै कायम रहने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई ठूला दलको सरकारले पनि काम गर्न र टिक्न नसकेको खण्डमा सानातिना दलले अब सरकार चलाउन नसक्ने बताएका हुन् ।

‘प्रचण्डजीसँग मिल्नुपर्छ भन्नुको कारण हामी सँगै चुनावबाट आएका हौं । तर, दुईवटा ठूला पार्टीहरु अफाप सिद्ध भएर काम गर्न सकेनन् भने यी टालाटुली बटुलीबाट कतिदिन चलाउने ? अहिलेकै सरकारको निरन्तरता हुनुपर्छ,’– उनले भने ।

साथै, उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया ढिलाइ हुँदा जनतामा निराशा बढिरहेको बताए । उनले गभर्नको लागि एकपछि अर्को व्यक्तिले राजीनामा दिँदा पनि गभर्नर नियुक्ति हुन नसक्नु दुःखद रहेको बताए । उनले गभर्नरको भूमिका अर्थमन्त्रीको भन्दा पनि महत्वपूर्ण हुने भएकाले तत्काल नियुक्ति हुनुपर्ने बताए ।

‘एउटा गभर्नर नियुक्ति, दुई तिहाइको सरकार । क–कसले राजीनामा दिएपछि हुने त ? सुरुमा विजय भट्टराईले दिनुभयो । सिफारिस समितिमा हुनुहुन्थ्यो । उहाँपछि एक जना ढुङ्गानले दिनुभयो, एउटा बैंकबाट । दिवाकर भट्टले दिनुभयो । अहिले फेरि विश्व पौडेलले राजीनामा दिनुभयो । क–कसले राजीनामा दिँदा हुने हो यो गभर्नर मैले बुझेको छैन,’– उनले भने ।

आफूले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली भेटेको बताउँदै उनले अबको केही दिनभित्र गभर्नर नियुक्ति हुने जानकारी पाएको सुनाए । प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धन तोड्ने पक्षमा नरहेको कारण कांग्रेसले सिफारिस गरेको व्यक्ति गभर्नर बन्ने उनले बताए ।

‘एमाले–कांग्रेस भन्दा पनि गठबन्धनमा शेरबहादुर देउवाले भनेको मान्छे गभर्नर बन्छ । त्यसमा तलमाथि हुँदैन । उहाँहरुको राम्रो सम्बन्ध छ । केपी शर्मा ओलीलाई कन्भिन्स गराइसक्नुभएको छ,’– उनले भने ।