धेरै युवाहरू रहरले विदेश जाने गरेको शंकर पोख्रेलको दाबी, एमालेले पलायन रोक्ने


दाङ, ६ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका विरूद्व भएको आरोप लगाएका छन् । ४१औं नेत्रलाल पौडेल ‘अभागी’ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजावादीले गर्ने आन्दोलन कुनै दलका विरूद्व नभई जनताका विरूद्व भएको बताएका हुन् । उनले प्रश्न गरे,‘हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?’

राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताउँदै महासचिव पोखरेलले गलत कुराका पक्षमा नलाग्न आग्रह गरे । राजावादीले जनतालाई निरङ्कुशताको जाँतोमुनी पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ताविरूद्व प्रहार गरिरहेको उनले बताए ।

पोखरेलले युवाहरू विदेश गएर देश नबन्ने बताउँदै देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्ने धारणा राखे । विदेश जानु केहिको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेको हुँदा युवा विदेश पलायनको क्रम रोक्न एमालेले नेतृत्व गर्ने उनले बताए ।