काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादीलाइृ ३२ सिटेहरु र रास्वपालाई जान्नेलाई छान्ने नाममा जनता झुक्याउनेहरुको संज्ञा दिएका छन् । यही जेठ ५ गते काठमाडौंमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनमा महासचिव पोखरेलले माओवादी र रास्वपाको बारेमा कडा टिप्पणी गरे ।
उनले माओवादी अहिले सरकार बाहिर भएकोले छटपटिएको आरोप लगाए । उनले ३२ सिटेहरूले ठूला पार्टीमाथि शासन गर्न नपाउँदा अहिले छटपटिएको बताएका थिए । माओवादी नेताहरुको सरकार र एमालेमाथिको प्रहार त्यसैको उपज भएको उनको भनाई थियो ।
उनले एमालेले उपप्रधानमन्त्रीदेखि मन्त्री र राज्यमन्त्री बनाइदिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता पनि एमालेविरुद्ध खनिएका बताए । आफ्नो कर्मको परिणापस्वरुप रास्वपा सभापति रवि लामिछाने जेल परेको बताउँदै रास्वपा कार्यकर्ता एमालेको विरुद्ध खनिनु बेकार भएको उनले स्पष्ट पारेका थिए । जान्नेलाई छान्ने भन्नेहरू जनतालाई झुक्क्याउने काममा लागेको र आफ्नो भविष्य अन्धकार हुने भएपछि रास्वपाका नेता कार्यकर्ताहरूले एमालेमाथि प्रहार गरिरहेको पनि उनको दाबी छ ।
त्यस क्रममा उनले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाको पनि आलोचना गरे । सांसद र मन्त्री बन्न एमाले चाहिने तर त्यो नभएपछि एमाले कामै नलाग्ने भन्दै राप्रपाका नेताहरू हिँडेको महासचिव पोखरेलले बताएका छन् । अहिले दुई ठूला पार्टी मिलेपछि आफ्नो दिन नआउने भयो भनेर साना पार्टीहरू एमालेको विरुद्ध खनिएको उनको विश्लेषण छ ।




प्रतिक्रिया