काठमाडौं, ८ जेठ । नेपाल समाजवादी पार्टीमा विवाद चुलिएको छ । अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठबीच सम्बन्ध चिसिएको छ । श्रेष्ठले माओवादीसँग एकता गर्नेगरि तयारी थालेपछि यादव पक्ष बिच्किएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि नेसपासँग एकताको विषयमा गंगारायण श्रेष्ठसँग कुरा भैरहेको खुलासा गरेका थिए ।
माओवादीसँग एकता गर्नको लागि नै सहअध्यक्ष श्रेष्ठले यही जेठ ११ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । तर, अध्यक्ष यादवले भने त्यसबारेमा सहमति नभएको खुलासा गरेका छन । उनी पक्षधर महासचिव रमेश यादवले विज्ञप्ति जारी गर्दै जेठ ११ गतेको बैठक आधिकारिक नभएको स्पष्ट पारेका छन् ।
यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेष्ठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ। नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको सन्दर्भमा रूपान्तरणसहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु।’




प्रतिक्रिया