बागलुुङ, ९ जेठ । क्यान्सर काउन्सिल नेपाल तथा एभरेष्ट बैंक लिमिटेडको आयोजनामा बागलुङ नगरपालिकास्थित श्री गणेश मा.वि, नारायणस्थानमा क्यान्सर, मुुटु रोगको कारण, लक्षण र रोकथामका उपायहरू र सुर्तीजन्य पदार्थको असर बारेमा जनचेतना तथा अन्तरक्रियात्मक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
बागलुुङ नगरपालिकाका मेयर वसन्त कुमार श्रेष्ठको प्रमुख अतिथित्वमा सम्पन्न कार्यक्रममा मेयर श्रेष्ठले घरनै पहिलो अस्पताल, व्यक्ति आफैं नै पहिलोे डाक्टर भएकोले आफूहरु स्वस्थ रहन सन्तुलित भोजन र सुर्तिजन्य पदार्थबाट टाढा बस्नुपर्ने कुरामा जोड दिएका छन् । उनले राज्यको स्वास्थ्य खर्च कम गर्न स्वस्थ जीवन अपनाउनुपर्ने कुरा बताए ।
मेयर श्रेष्ठले राज्यले दीर्घरोगीलाई निर्वाहभक्ता दिनुको साटो स्वास्थ्य–शिक्षा कार्यक्रममार्फत स्वस्थ नागरिक बनाउनको लागि लगानी गर्नुपर्नेमा जोड दिए । उनले तीन तहकै सरकारले यस विषयमा गम्भीर पहल लिनुपर्ने धारणा राखे ।
कार्यक्रमका स्रोत व्यक्ति विशेषज्ञ डा.आशिष सापकोटाले ३०–५० प्रतिशत रोगहरुबाट बच्न हामीले सन्तुलित भोजन, शारीरिक व्यायाम र सुर्तिजन्य पदार्थबाट टाढा बस्नुपर्ने कुरा बताए ।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले देशव्यापी रूपमा स्वास्थ्य–शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरा औल्याए । उनले उक्त श्री गणेश मा.वि.मा कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । आगामी दिनमा पनि आफ्नो संस्थाले यस्ता कार्यक्रम सञ्चालन गर्ने कडरियाले प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले क्यान्सर काउन्सिल नेपाल र एभरेष्ट बैंकलाई स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे। उनले व्यक्ति सफल हुनको लागि स्वस्थ हुनुपर्ने कुरा राखेका छन् । उनले गणेश मा.वि बाग्लुङ जिल्लामै उत्कृष्ट, नमुना विद्यालय भएकोमा खुसी व्यक्त गरे ।




प्रतिक्रिया