परराष्ट्रमन्त्री राणा पूरै असफल हुनुभयो : पुरञ्जन आचार्य


काठमाडौं, १० जेठ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले परराष्ट्रमन्त्री डा. आरजु राणालाई पूरै असफल मन्त्रीको संज्ञा दिएका छन् । उनले भने,‘परराष्ट्रमन्त्री पूरै असफल, के सफल भन्ने ? कहाँ सफल भनेर के कुरा गर्ने ? विदेशी लगानी आएको छैन । नेपालको प्रधानमन्त्रीलाई भारतले बोलाएको छैन् । संसारले बोलाएको छैन् । संसारमा कुनै त्यस्तो ब्रेकथु भएको छैन् । सगरमाथा समिटमा कोही आएनन् । कुटनीतिमा सफल हुनको लागि त्यसको अभ्यास त छुट्टै हुन्छ ।’

उनले अहिलेका मन्त्रीहरुले काम गर्न नसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीले यी मन्त्रीहरुलाई तुरुन्तै फायर गरिदिए हुन्छ, कि प्रधानमन्त्रीले मैले सकिनँ भनेर राजीनामा दिनुपर्यो, जुन धेरै अगाडि गर्नुपर्दथ्यो । अझैपनि काम गर्ने ईच्छा छ भने १० महिना तिमीहरुलाई हेरें अब सक्दिनँ भनेर मन्त्रीहरुलाई फायर गरिदिनुपर्छ ।’

आचार्यले अहिलेको कांग्रेस–एमालेको दुई तिहाईको सरकारले सुशासन र नीतिगत सुधार गर्न नसकेको आरोप लगाएका छन् । उनले भने,‘अहिलेको सरकारले शासनमात्रै दिएपनि मान्छेले चित्त बुझाउँथे, सुशासन त भिन्नै कुरा हो । यहाँ त कुशासन भयो । यो दुई तिहाईको सरकारले धेरै ठूलो नीतिगत डिपार्चर गर्नसक्थ्यो । गभर्नेन्समा ठूलो ठूलो डिपार्चर गर्नसक्थयो । भूराजनीतिलाई पनि धेरै राम्रो ढंगले सम्बोधन गर्न सक्थ्यो ।’ उनले सरकार असफल भैरहेको टिप्पणी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सगरमाथा सम्वादमा एउटापनि देशको राष्ट्राअध्यक्ष नआएको भन्दै उक्त सगरमाथा समिट फ्लप भएको दाबी गरे । उनले अहिलेको गठबन्धनलाई कांग्रेस र एमालेको गठबन्धन भन्न नमिल्ने टिप्पणी गरे ।

उनले भने,‘यो कांग्रेस र एमालेको गठबन्धन होईन, यो एमालेको नेता केपी ओली र कांग्रेसका नेता शेरबहादुरको परिवारसँगको गठबन्धन हो । समग्र कांग्रेस यसमा साक्षीपनि बसेको छैन । सरकारपनि त्यसको होईन । यो सरकार टिकेको छ, यो सरकारको केमेष्ट्री मिलेको छैन, बरु यसको अर्थमेटिक मिलेको छ ।’ उनले यो सरकार खानयोग्य र हेर्नयोग्य नभएको बताए । उनले पछिल्लो १० महिनामा अहिलेको सरकारले देश चलाउनको लागि भन्दापनि विचौलिया र भारद्धारलाई नियुक्ती गर्नको लागि काम गरेको आरोप लगाए । उनले अहिलेको सरकारबाट सबै सेक्टर असन्तुष्ट बनेको दाबी गरे ।