काठमाडौं, ११ जेठ । नेपाल प्रहरीका पूर्व एआईजी कुबेर कठायतले नेपालीहरु भिजिट भिसामा अथवा आफैं बेचिएर किन विदेशिन बाध्य छन् भन्ने कुरा राज्यले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भिजिट भिसा प्रकरणसँग सम्बन्धित भएर यस्तो बताएका हुन् । राज्यका निकायहरुले पनि आफूलाई तोकिएको भूमिका त्रुटीरहित ढंगबाट निर्वाह गर्नुपर्ने बताए ।
‘कानुनी कारबाहीको पाटो आफ्नो होला । अनुसन्धान गर्ने, कारबाही गर्ने, गल्ती क–कसको छ ? त्यसलाई कानुनी दायरामा ल्याउने एउटा भयो । अर्को चाहीँ अनुसन्धान गर्नुपर्ने कुरा के हो भने मान्छे भिजिट भिसामा अथवा आफैं बेचिने हिसाबले जान किन तत्पर छन् भन्ने कुरा राम्रैसँग अनुसन्धान गर्न जरुरी छ,’– उनले भने ।
पूर्व एआईजी कठायतले भिजिट भिसा प्रकरणमा जोसुकै दोषी भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘यो दोषी, ऊ दोषी छ भन्ने कुरा हामीले आरोप लगाउने कुरा भएन । अनुसन्धानले देखाउला । घरमुलीमात्रै सबै चिज होइन । सम्बन्धित मान्छे आ–आफ्नो ठाउँमा कति जिम्मेवार भयो भन्ने सोचनीय हुनसक्छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया