गृहमन्त्री लेखकको बचाउमा कृष्ण सिटौला, राजीनामा दिन नपर्ने मत


विराटनगर, ११ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका दलका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको भन्दै बचाउ गरेका छन् । अजा (आइतबार) विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले यस्तो बताएका हुन् ।

उनले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । उनले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको स्मरण गराए । तर, अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने उनको मत छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाले भने नैतिकताको आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । हिजो विराटनगरमा नै आयोजित पत्रकार भेटघाटमा नेता कोइरालाले यत्रो विषय उठिसकेकोले अब राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने मत राखेका थिए । त्यसको भोलिपल्ट आज नेता सिटौलाले भने गृहमन्त्री लेखकले राजीनामा दिननपर्ने भन्दै बचाउ गरेका हुन् ।