भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता देखियो भने कारबाही गर्नुपर्छ, संलग्न सबैलाई निमर्मतापूर्वक कारबाही हुनुपर्छः पदम गिरी (भिडिओसहित)


काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री पदम गिरीले भिजिट भिसा प्रकरणमा कहीँ न कहीँ गृहमन्त्री रमेश लेखकको पनि संलग्नता देखियो भने मन्त्रीलाई कारबाही गर्नुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता गिरीले भने,‘यो प्रकरणमा अख्तियारले छानबिन गरिराखेको छ, अनुसन्धानको प्रक्रियामा छ । अख्तियार छुट्टै स्वायत्त निकाय हो, हामीले सबैले बुझेका छौं । त्यसले छानबिन गर्दै जाँदा जो जो संलग्न देखिन्छन्, ती मान्छेहरु कारबाहीको प्रक्रियामा ल्याउनुपर्छ । त्यसमा सम्झौता गर्न सकिँदैन् । त्यसमा गृहमन्त्रीको पनि संलग्नता देखियो, गृहमन्त्रीको आफ्नो कहीँ न कहीँ यो संलग्नतामा यो कुरा भइराखेको छ भने त भोलि गृहमन्त्रीलाई कारबाहीको विषय बन्छ नि, बन्नुपर्छ । उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । तर के हो भने तथ्यहरुले त्यहाँसम्म नपुग्दा वा नभेट्दासम्म फेरि कुरा के हो भने देशभित्र विभिन्न क्षेत्रमा भ्रष्टाचार हुन्छ, कुनै न कुनै मन्त्रालयका मातहातका अड्डाहरुमा भ्रष्टाचार भएको हुन्छ, अनि त्यो अड्डामा भ्रष्टाचार भयो भन्दैमा त्यही अड्डासँग सम्बन्धित मन्त्रीले राजीनामा दिँदै जाने हो भने त अब अख्तियारले हिजो र अस्तिमात्रै पनि दर्जनौं मान्छे रंगेहात पक्राउ गरेको छ, भ्रष्टाचार गरेका मान्छेलाई अनुसन्धानमा लिएको छ, त्यसको मन्त्रालय खोज्दै जाने हो भने त मलाई लाग्छ मन्त्रालय नै खाली हुने स्थिति बन्छ ।’

गिरीले भिजिट भिसा प्रकरणमा अख्तियारले चालेको कदमको स्वागत गरेका छन् । उनले भने,‘जुन कुरा अख्तियारले छापा पनि मार्यो, केही तथ्य र प्रमाण फेला पारेको छ भनिराखेको अवस्था छ, जुन कुरा छापामा बाहिर आइराखेको छ, यो बास्तवमा आँफैमा धेरै गम्भीर विषय हो । एउटा इमिग्रेशनमा यस्ताप्रकारका घट्नाहरु हुन्छन् भने यो त सिंगे मुलुकको निम्ति लज्जाको विषय हो । अब नेपालप्रति कसले ट्रष्ट गर्ने ? कसरी विश्वास गर्ने ? भिजिट भिसा भनेर जाने, त्यस ढंगले सेटिङमा मान्छे पठाउने, यस्तो काम हुन्छ भने यो धेरै नै दुःखद् विषय हो । यसमा जो जो संलग्न छन्, जहाँ छन् उनीहरुलाई निमर्मतापूर्वक कारबाही गर्नुपर्छ ।’

उनले यो प्रकरणको अनुसन्धान गरेर अख्तियारले जरोदेखि टुप्पोसम्म पत्ता लगाएर कारबाही गर्नुपर्ने सुझाव दिएका छन् । उनले भने,‘यो प्रकरणमा जो-जो संलग्न छन्, तिनीहरुलाई मोलाहिजा नगरिकन र कसैको अनुहार नहेरिकन, तथ्य र प्रमाणले जहाँ-जहाँ पुर्याउँछ, त्यहाँ-त्यहाँ पुगेर ती सबैलाई कारबाही गर्नुपर्छ । भविष्यमा यो जालो निमिट्यान्न पारेर फालिदिनुपर्छ । यसमा सरकारले जिरो-टोलेरेन्सको नीति लिनुपर्छ ।’ file photo