काठमाडौं, १२ जेठ । १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावरको ठेक्का पाएको कम्पनीको कागजपत्र नै नक्कली भएको भन्दै सिआईबीले अनुसन्धान थालेको छ । यस ठेक्का विवाद अदालतसम्म पुगिसकेको थियो । उक्त रिटमा उच्च अदालत पाटनले गत बैशाख ३९ गते नै खरिद प्रक्रियासम्बन्धी सबै सक्कल फाइल झिकाउने आदेश दिएको थियो ।
उच्चका न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको संयुक्त इजलासले टेन्डरमा बोलपत्रबमोजिमको खरिद प्रक्रियासम्बन्धी मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल झिकाउने आदेश दिएको थियो । ठेक्कामा मिलेमतो भएको भन्दै टेन्डर प्रक्रिया नै रद्द गर्न माग गरेर रिट दायर भएको थियो ।
किर्ते कागजपत्र पेस गर्ने कम्पनीलाई छनोट गरिएको तथा टेन्डरका गोप्य आर्थिक विवरण पहिले नै सार्वजनिक गरिएको भन्दै यो ठेक्का प्रक्रिया विवादित बनेको थियो । हाईलेभलको मिलेमतोमा ठेक्काको प्राविधिक मूल्यांकनमा पास भएको चिनियाँ कम्पनी ज्याङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनलाई ठेक्का दिईएको थियो ।
नोटिस फर प्राईस बिड ओपनिङमा पहिलो नम्बरमा यही कम्पनी सेलेक्ट भएको थियो । रोचक कुरा त के छ भने यत्रो १०६ मेगावाटको ठेक्का पाएको यस कम्पनीले हालसम्म जलविद्युतको काम नै नगरेको पाईएको छ । अन्य कम्पनीले अफ्रिकी देशमा गरेको कामलाई यही कम्पनीको भनेर ठेक्का दिईएको हो ।
बिडिङमा दोस्रो नम्बरमा छनोट भएको चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पाेरेसनले नै सार्वजनिक खरिद अनुगमनको कार्यालयमा उजुरी दिएको थियो । अहिले सार्वजनिक खरिद अनुगमनले पनि यो विषयमा अनुसन्धान गरेर ज्याङ्सीको प्राविधिक योग्यता नपुगेको भन्दै टेण्डर रद्द गर्न प्रधानमन्त्रीको कार्यालयमा पत्राचार गरेको उच्चस्रोतको दाबी छ । यस हाईड्रोको ठेक्का प्रक्रिया दुई पटक नै विवादमा परिसकेको छ ।




प्रतिक्रिया