काठमाडौं, १२ जेठ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषकको जीवनस्तर उकास्नका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताएका छन् ।
जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडको रजतजयन्ती समारोहमा कृषकको अवस्था सुधारका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताएका हुन् ।
‘कृषि क्षेत्रलाई स्थापित गर्न सके नेपाली युवाहरू विदेशिनबाट रोक्न सकिन्छ । यसका लागि आधुनिकीकरण आवश्यक छ । यसका लागि लगानी बढाउनुपर्नेछ, आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई सहुलियतका कार्यक्रम समावेश गर्ने गरी काम गरिएको छ,’– उनले भने ।
कृषिमा लगानी बढाउँदै निजी क्षेत्रसँग सहकार्य गर्ने गरी काम गरिने उनको भनाइ थियो । मन्त्री अधिकारीले यस वर्षदेखि कृषकले विगतमा जस्तो मल नपाउने समस्या समाधान हुने भन्दै मल वितरण प्रणालीलाई संशोधन गरेर चुस्त बनाइएको बताए ।
सरकारले दुग्ध उत्पादक किसानलाई दिनुपर्ने रकम दिइरहेको बताउँदै उनले अब बाँकी रकम दिने गरी काम गरिएको बताए । ‘म मन्त्रालयको जिम्मेवारीमा आउँदा दुई अर्ब कृषकलाई तिर्न बाँकी रहेकामा हाल २० करोड मात्रै बाँकी छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया