भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता तथ्य र प्रमाणले पुष्टि गर्दैनः एमाले नेता थापा (भिडिओसहित)


काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले खरिदार, सुब्बा जोडिएको प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् । उनले भिजिट भिसा प्रकरणलाई राजनीतिक रुपमा हमला गर्ने अस्त्र बनाइएको बताए । तथ्य र प्रमाणले उक्त प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पनि पुष्टि नहुने दाबी गरे ।

‘भिजिट भिसा प्रकरणमा उहाँले आफ्नो स्पष्टीकरण दिनुभएको छ । सत्ता गठबन्धनका दुवै मुख्य दलले त्यसको बारेमा तथ्यहरुको विश्लेषण गरेर आफ्नो पोजिसन लिएका छन् । अहिले त्यसबारेमा छानविन गर्ने निकायले छानविन पनि गरिराखेका छन् । यो विषय पेचिलो विषय बनेको छ,’– उनले भने, ‘तर, रमेश लेखक नै यसमा संलग्न हुनुहुन्छ भन्ने ढंगले जसरी भन्न खोजिएको छ । त्यो विषय तथ्यहरुले पुष्टि गर्दैन । कुनै खरिदार, कुनै सुब्बाको संलग्नता भएको ठाउँमा गृहमन्त्री नै संलग्न हो भनेर जबरजस्ती गर्न खोजिएको छ, यो विषयमा सत्ता गठबन्धनको मुख्य दल कांग्रेस–एमालेले गृहमन्त्री संलग्न भएको आधार प्रमाण देखिएन भनेको कुरा हो । यो राजनीतिक रुपमा सत्ता गठबन्धनमाथि हमला गर्ने कोशिस हो भन्ने हो ।’

उनले भिजिट भिसा प्रकरण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेको बताउँदै उनले शंकाको सुई भन्दा पनि तथ्यको सुई गृहमन्त्रीतिर सोझिन्छ कि सोझिँदैन भन्ने काम सम्बन्धित निकायलाई नै गर्न दिनुपर्ने बताए । रोक लगाइएको ठाउँमा पनि ठूलो संख्यामा महिलाहरु भिजिट भिसामा लैजाने कामहरु भएको उनले बताए । यस्तो अवस्थालाई रोकेर सरकारले कडाइका साथ सरकारले छानविन गर्नुपर्ने उनले बताए ।