गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसद् चल्न सक्दैनः शिशिर खनाल


काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य शिशिर खनालले भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका कर्मचारीलाई मात्रै नभएर गृहमन्त्री रमेश लेखकमाथि पनि अनुसन्धान गरिनुपर्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्री लेखकको मोबाइल र ल्याप्टपसमेत परीक्षण गरिनुपर्ने बताए । यस प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनु अपरिहार्य रहेको उनको भनाइ छ ।

‘अब अनुसन्धान कर्मचारीमाथि मात्रै होइन, गृहमन्त्रीमाथि पनि हुनुपर्छ । यसमा प्राविधिक अनुसन्धान हुनुपर्छ । मोबाइल र ल्याप्टपहरुको परीक्षण हुनुपर्छ । त्यो परीक्षण गर्ने निकाय प्रहरीमार्फतको विधि विज्ञान प्रयोगशाला हो । अहिलेको परिवेशमा के स्वच्छ अनुसन्धान भएर रिपोर्ट आउला त ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा तीन महिनासम्म हिरासतमा राखेर दुःख दिने काम गरिएकोमा सत्तापक्षका नेताहरुलाई भने अहिले प्रहरीको कार्यलयमा बोलाएर चिया खुवाएर पठाउने काम भइरहेको बताए । मम्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि मन्त्री लेखकको सचिवालयसम्म यो प्रकरणमा जोडिएको उनले बताए । मन्त्री लेखकमाथि पनि प्रश्न उठेको बताउँदै उनले राजीनामा अन्तिब बटमलाइन रहेको बताए । उक्त घटना संगठित ढंगले गरिएको अपराध रहेको बताउँदै उनले निष्पक्ष छानविनको माग गरे ।

‘संगठित अपराध र सम्पत्ति सुद्धीकरणसँग जोडिएर छानविन गर्नेगरी एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसद् चल्न सक्दैन । निर्दोष नेपालीहरुमाथिको अत्याचारलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । संसद् अगाडि बढ्न सक्दैन,’– उनले भने ।