काठमाडौं, १३ जेठ । भिजिट भिसा प्रकरणले सञ्जालदेखि सदनसम्म तातिएको छ । आजको प्रतिनिधिसभा बैठक बस्नुअघि नै विपक्षीहरुको बैठक बसेर सदन अवरोध गर्ने निर्णय भएको थियो । गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ र संसदीय छानबिन समिति गठन विपक्षीहरुको बटमलाईन थियो ।
तर, सदनमा विपक्षीहरुको बैठकमा भएको निर्णय कार्यान्वयन भएन । सदन सुरु हुनासाथ माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका सांसदहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले विपक्षीहरुको तर्फबाट प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई बोल्नको लागि समय दिए ।
उनले बोल्ने क्रममा गृहमन्त्री रमेश लेखकको राजीनामाको मात्रै चर्चा गरे । विपक्षी दलहरुबीच भएको सहमति र निर्णयबमोजिम प्रधानमन्त्रीको जवाफ माग्ने विषयमा वर्षमान प्रवेश नै गरेनन् । उनले संसदीय छानबिन समिति माग्नुपर्छ भनेरपनि भनेनन् । उता, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा भने माओवादीको रो’को फ्रन्टलाईनमा देखिएनन् ।
उनी अन्तिम रो’ मा देखिए । जनार्दन गृहमन्त्री लेखकको राजीनामा माग्ने पक्षमा नरहेको बताईन्छ । सदनमा नै माओवादीभित्र दुई धार देखिएको आजको दृश्यले प्रष्ट पार्दछ । अर्का उपमहासचिव शक्तिबहादुर बस्नेतपनि कांग्रेसलाई चिढ्याउन नहुने पक्षमा देखिएका छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भने यो भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा आउनेसम्मको स्थितिमा पुर्याउने दाबी गरेका छन् । उनी आजको संसद बैठकमा उपस्थित् थिएनन् ।
उनी पार्टीविशेषको कामले चितवन गएका छन् । चितवन विमानस्थलमा नै उनले गृहमन्त्री लेखकको राजीनामा आउने र यो विषय सरकारसँग सम्बन्धित रहेको टिप्पणी गरेका छन् । संसद्मा विपक्षीहरुको अवरोध गर्ने विषयमा पनि विभाजन देखिएको छ ।
वर्षमानले विपक्षीहरुको बैठकमा भएको सहमतिबमोजिम प्रधानमन्त्रीसँग जवाफ माग्ने र संसदीय छानबिन समिति गठनको विषय नबोलेपछि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफू दोस्रो पटकको विरोध प्रक्रियामा सरिक नभएको प्रतिक्रिया दिए । विपक्षी दलका सांसदहरु उभिएर विरोध गर्दा उनी बसिरहेका देखिन्थे । उता, नेकपा (एकीकृत समाजवादी) का सांसदहरु प्रेम आले र किसान श्रेष्ठ त सुरुदेखि नै सदन अवरोधको प्रक्रियामा सामेल भएनन् । अरू सांसदहरु उभिएर विरोध गर्दा उनीहरु बसिरहेका थिए ।




प्रतिक्रिया