काठमाडौं, १३ जेठ । सरकारले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार (हिजो) बसेको बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकमा विभिन्न२८ निर्णयहरु भएका छन् ।
मन्त्रिपरिषद्ले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख रुपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको मन्त्री गुरुङले बताए ।
नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा.कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, जेठ १४ देखि १८ गतेसम्म हङ्कङमा आयोजना हुने एक कार्यक्रममा पर्यवेक्षकको रुपमा सहभागी हुन परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान गर्ने र १० जना सचिवहरुको सरुवा गर्नेलगायतका निर्णय भएका छन् ।







प्रतिक्रिया