काठमाडौं, १३ जेठ । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । आज (मंगलबार) विहान १० बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सकिएको हो । कूल १ हजार ७ सय ६४ प्रतिनिधि (मतदाता) रहेकोमा १ हजार ४ सय ४ मत खसेको बताइएको छ ।
केहीबेरपछि आज नै मत गणना सुरु हुने पनि बताइएको छ । युवा संघको अध्यक्षमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धी रहेका छन् । थेबे अघिल्लो अधिवेशनमा अध्यक्षमा चयन भएका थिए भने पुरी महासचिव बनेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली युवा संघको निर्वाचन सर्वसम्मत गराउन चाहन्थे । थेबे र पुरीले अध्यक्षमा अडान नछाडेपछि निर्वाचन भएको हो । पछिल्लो समय एमालेमा ओलीको वर्चस्व गुम्दै गएको छ ।




प्रतिक्रिया