काठमाडौं, १४ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सदनबाट भोलि बजेट आउने बताएका छन् । तर, प्रतिपक्षले सदन अवरोध गर्नु दुःखद् कुरा भएको उनको भनाई छ ।
उनले भने,‘सामान्य विषयवस्तुलाई पनि संसदको राजनीतिक मसाला बनाएर यो सत्ता स्वार्थको दाउपेचको भर्याङ बनाउन खोज्ने जे प्रवृत्ति हामीमा विकास भएको छ, यो असाध्यै दुःखद् छ । यसप्रति सबै जिम्मेवारी पार्टीले यस्ता कुरामा ख्याल पुर्याउनुपर्छ । जसरी हिजो बैठक आह्वान भएको थियो, संसदको बैठकमा गृहमन्त्रीजीको विषय र प्रसंग उठ्यो, प्रश्न उठेपछि जवाफ पनि दिनुपर्छ । गृहमन्त्रीजी हिजै तयार हुनुभयो । उहाँ जवाफ दिन हिजो हाउसमा आउनुभयो । तर, हाउसमा आएको गृहमन्त्रीलाई रोष्ट्रममा पुग्न नदिने र रोक्ने काम भयो । यसले के देखाउँछ भने संसदलाई प्रभावकारी ढंगबाट अघि बढाउन नदिने मनशाय देखिएको छ, यो असंसदीय छ । गलत छ ।’
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रतिपक्षी दलहरुले गरेको सदन अवरोध गलत भएको भन्दै उल्टै जवाफ मागे । उनले यो प्रकरणमा भोलि अनुसन्धानको प्रक्रियाबाट गृहमन्त्रीको कहीँ कतै संलग्नता देखियो र त्यसहिसाबले पुष्टि हुने आधार र प्रमाण देखियो भने गृहमन्त्रीलाई पदमा बस्नमात्रै नभएर कानूनबमोजिम कारबाही हुनुपर्छ भनेर भन्ने सुनाए ।
उनले भने,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग यो संवैधानिक आयोग हो, गृहमन्त्रालय मातहतको निकाय होईन । उसले कोही कर्मचारीमाथि अनुसन्धान गर्न आवश्यक ठान्यो, शंका लाग्यो भने निज कर्मचारीमाथि अनुसन्धान गर्दै होला । तर, अब गृहमन्त्रीजीका बारेमा कहीँ कतैबाट त्यस्तो प्रमाणित तथ्यपनि आएको छैन् । कहीँ कतैबाट किटानी उजुरी भएर अगाडि बढेको छैन् । अख्तियारले उहाँमाथि बयान लिएको अवस्थापनि होईन । त्यसकारण बाहिर समाचारमा, मिडियामा विषय बनाएर त्यसकै आधारमा राजीनामा माग्ने काम गलत हो ।’




प्रतिक्रिया