प्रचण्डले एक मिनेटपनि माओवादी केन्द्रको अध्यक्ष हुने हैसियत राख्नुहुन्न : एमाले नेता महेश बर्तौला


काठमाडौं, १४ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक मिनेटपनि माओवादी केन्द्रको अध्यक्ष हुने हैसियत नराख्ने टिप्पणी गरेका छन् । उनले माओवादीको शासनकालमा कुशासनमात्रै भएको आरोप लगाए ।

नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘माओवादी केन्द्रले अहिले मौका यही हो, यही बेलामा यो सरकारलाई असफल बनाउने, ढाल्नको लागि प्रयत्न गर्ने, यो सरकारलाई फुटाउने, सत्ता यात्रालाई अगाडि बढ्न नदिनको लागि गृहमन्त्रीमाथिको प्रहारको निशाना, उसले एकदमै राजनीतिक विषयबाट प्रेरित भएर यो विषय उठाएको छ । सुशासन वा अरु कुनै कारण होईन, किनभने माओवादीको शासनकालमा जस्तो कुशासन, उहाँहरुको गृहमन्त्री हुँदाजस्तो क्विन्टलका क्विन्टल सुन तस्करी, उहाँहरुको पार्टीका मुर्धन्य व्यक्तिहरुको संलग्नता, यी सबैका आधारमा हेर्ने हो भने त प्रचण्डज्यूले पनि आज एक मिनेटपनि माओवादी केन्द्रको अध्यक्षपनि बस्ने उहाँले हैसियत राख्नुहुन्न ।’

उनले सदनबाट भोलि बजेट आउने बताएका छन् । तर, प्रतिपक्षले सदन अवरोध गर्नु दुःखद् कुरा भएको उनको भनाई छ । उनले भने,‘सामान्य विषयवस्तुलाई पनि संसदको राजनीतिक मसाला बनाएर यो सत्ता स्वार्थको दाउपेचको भर्याङ बनाउन खोज्ने जे प्रवृत्ति हामीमा विकास भएको छ, यो असाध्यै दुःखद् छ । यसप्रति सबै जिम्मेवारी पार्टीले यस्ता कुरामा ख्याल पुर्याउनुपर्छ । जसरी हिजो बैठक आह्वान भएको थियो, संसदको बैठकमा गृहमन्त्रीजीको विषय र प्रसंग उठ्यो, प्रश्न उठेपछि जवाफ पनि दिनुपर्छ । गृहमन्त्रीजी हिजै तयार हुनुभयो । उहाँ जवाफ दिन हिजो हाउसमा आउनुभयो । तर, हाउसमा आएको गृहमन्त्रीलाई रोष्ट्रममा पुग्न नदिने र रोक्ने काम भयो । यसले के देखाउँछ भने संसदलाई प्रभावकारी ढंगबाट अघि बढाउन नदिने मनशाय देखिएको छ, यो असंसदीय छ । गलत छ ।’

उनले प्रतिपक्षी दलहरुले गरेको सदन अवरोध गलत भएको भन्दै उल्टै जवाफ मागे । उनले यो प्रकरणमा भोलि अनुसन्धानको प्रक्रियाबाट गृहमन्त्रीको कहीँ कतै संलग्नता देखियो र त्यसहिसाबले पुष्टि हुने आधार र प्रमाण देखियो भने गृहमन्त्रीलाई पदमा बस्नमात्रै नभएर कानूनबमोजिम कारबाही हुनुपर्छ भनेर भन्ने सुनाए ।

उनले भने,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग यो संवैधानिक आयोग हो, गृहमन्त्रालय मातहतको निकाय होईन । उसले कोही कर्मचारीमाथि अनुसन्धान गर्न आवश्यक ठान्यो, शंका लाग्यो भने निज कर्मचारीमाथि अनुसन्धान गर्दै होला । तर, अब गृहमन्त्रीजीका बारेमा कहीँ कतैबाट त्यस्तो प्रमाणित तथ्यपनि आएको छैन् । कहीँ कतैबाट किटानी उजुरी भएर अगाडि बढेको छैन् । अख्तियारले उहाँमाथि बयान लिएको अवस्थापनि होईन । त्यसकारण बाहिर समाचारमा, मिडियामा विषय बनाएर त्यसकै आधारमा राजीनामा माग्ने काम गलत हो ।’