राजनीतिक संयन्त्रले पैसा उठाउन बाध्य बनाउँदा कर्मचारीहरु अख्तियारको भुङ्ग्रोमा परेः गणेश पराजुली


काठमाडौं, १४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविन प्रक्रियामा सहयोग गर्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री स्वयंले नियुक्त गरेको कर्मचारी भिजिट भिसा प्रकरणमा मुछिएको र उनको पनि संलग्नता हुनसक्ने आशंका बढेकाले राजीनामा दिनु उचित हुने बताएका हुन् ।

‘पछिल्लो दिनमा गृहमन्त्रालयसँग जोडिएर गृहमन्त्रीज्यूले नियुक्त गरेको कर्मचारीले मानव तस्करीलाई प्रश्रय दिने काम गरेको भन्ने कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेर, सबै कुरा पत्ता लगाएर अब एक्सनमा उत्रिनुपर्छ भनेको थाहा पाएपछि अनि गृहमन्त्रालले ती कर्मचारीलाई कारबाहको दायरामा ल्याउनुको सत्तामा, कारबाही गर्नुको सट्टामा सरुवा गरियो,’– उनले भने ।

भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीलाई राज्य संरचनाले नै पैसा उठाउनका लागि बाध्य बनाउने गरेको उनको दाबी छ । ‘अहिले भुङ्ग्रोमा परेका कर्मचारीहरु यिनै राजीतिक संयन्त्रले बाध्य बनाएर यिनीहरुलाई पैसा उठाउन लगाएका हुन् । त्यसरी दैनिक रुपमा उठाइएको पैसा कर्मचारीले मात्रै राख्दैनन्, उपल्लो निकायसम्म पुग्छ,’– उनले भने ।

नेता पराजुलीले आफूहरुले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा नमागेको उनले बताए । उनले समाचार आएको भरमा र भावनामा बहकिएर पनि राजीनामा नमागिएको उनले बताए । नेपाली जनताले अहिले मानव तस्करी प्रकरणमा विश्वसामु शीर निुहुर्याउनु पर्ने अवस्था आएको उनले बताए । गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्ने, उक्त प्रकरणमा उच्चस्तरीय न्यायिक समिति बन्नुपर्ने उनले बताए ।

‘हामी भनिरहेका छौं– नैतिकताको आधारमा गृहमन्त्रीलाई राजीनामा दिनुुस् भनेका होइनौं, समाचारमा आयो राजीनामा दिनुस् भनेका पनि होइनौं । हामी भावनामा बगेर राजीनामा मागेका पनि होइनौं । अख्तियारले थालेको अनुसन्धान प्रक्रियामा तपाईँ पनि संलग्न भएको शंकाको दायरा निकै ठूलो भयो,’– उनले भने ।