देउवा-ओलीको निष्कर्षः गृहमन्त्री लेखकले राजीनामा दिन पर्दैन


काठमाडौं, १४ जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेका सत्तारुढ दलको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।

आजाको बैठकले गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिन निर्णय भएको एमाले प्रमुख सचेतक बर्ताैलाले बताए । बर्तौलाका अनुसार गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन भन्ने कुरामा देउवा–ओली कन्भिन्स भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने बर्तौलाले दोहोर्याए ।

‘उठेका विषय वस्तुका बारेमा गृहमन्त्रीज्यूले प्रष्ट पार्नेगरी संसद्मा सम्बोधन गर्नुहुन्छ । भोलि संविधान बमोजिम बजेट ल्याउनुपर्छ । त्यसकारण अर्थ मन्त्रालयले आज संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नुपर्छ । आजको बैठकमा यो विषय कार्यसूचीमा राखेर सम्पन्न गर्नुपर्छ । एउटा कर्मचारीको विषयमा हाउस नै अवरोध गर्ने, राजीनामा माग्दै हिँड्ने हो भने हामी कहाँ पुग्छौं ? यो कुरा प्रतिपक्षीलाई आग्रह गर्ने कुरा भयो,’– रिपोर्टर्स नेपालका लागि मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै बर्तौलाले भने ।