काठमाडौं, १४ जेठ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गते (भोलि) बाट शान्तिपूर्ण जनआन्दोलन आरम्भ हुन लागेको जानकारी गराएका छन् भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको अन्त्य गरेर संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्र कायम गर्न जनआन्दोलन गर्न लागिएको उनको भनाइ छ ।
तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत रहेका सुवेदीले संविधानप्रदत्त अधिकार प्रयोग गरेर देशमा विद्यमान निषेध अन्त्य गर्दै सबै विचार र संस्था अट्ने नवीन समझदारी कायम गर्ने आफूहरुको प्रयास र प्रस्तावना रहेको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । आफ्ना मागहरु पूरा गर्न सशक्त जनदवाव सिर्जना गर्ने उद्देश्यका साथ जनआन्दोलन सञ्चालन हुन लागेको र त्यसको स्वरुप भद्र अवज्ञा र सत्याग्रह हुने पनि उनले प्रष्ट पारेका छन् ।
‘पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको नेपाल, कहिले पराधिन नभएको हाम्रो देश अहिले चौतर्फी संकट, बेथिति र भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देश जोगाउन अवस्था र व्यवस्था वदल्नु पर्ने बाध्यात्मक परिस्थिति छ । पृथ्वीपथको जगमा शान्ति र समृद्धि प्राप्त गर्नु परेको छ,’– उनले विज्ञप्तिमार्फत भनेका छन् ।
संयोजक सुवेदीले यसपटकको आन्दोलनमा पनि सरकारले गत चैत १५ गतेकोजस्तै गरी बर्बर दमन गर्न सक्ने आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई काठमाडौं नै नियन्त्रणमा लिन भनेको र सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनलाई प्रतिबन्ध लगाउने धम्की दिएको उनले स्मरण गरेका छन् ।
‘तीनकुने घटनामा जस्तै सरकारले नियोजित रुपमा आक्रमण गरी प्रदर्शनलाई अराजक र हिंसात्मक बनाउने सम्भावना देखिएकोले तत् सम्बन्धमा विशेष चनाखो रही अनुगमन गरिदिन हुन मानव अधिकार संघसंस्था र संचार जगत समेतलाई सादर अनुरोध गर्दछौं,’– संयोजक सुवेदीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया