सभामुख घिमिरेले सदनमा बार्गेनिङ गरेको रास्वपा सांसद पराजुलीको आरोप


काठमाडौं, १४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सदनमा प्रतिपक्षलाई बोल्न नदिएर बार्गेनिङ गरेको आरोप लगाएका छन् । आज (बुधबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार पक्षलाई बोल्न दिने भए प्रतिपक्षलाई पनि बोल्न दिने, नत्रभने बोल्न नदिने भनेर सभामुख घिमिरेले बार्गेनिङ गरेको र सदन चलाउन नचाहेको बताएका हुन् ।

‘सम्मानित सदनमा जनताको आवाज लिएर उपस्थित भएको प्रतिपक्षलाई बोल्नेगरी समय उपलब्ध गराइएन । सरकार पक्षलाई बोल्न दिनेभए बोल्न दिने नत्र नदिने भनेर स्वयं सभामुखज्यूले पनि बार्गेनिङ गर्दैगर्दाखेरी साच्चै नै आज लज्जाबोध भएको छ । सदनमा प्रतिपक्षले बोल्न पाउनुपर्थ्यो तर बोल्न दिइएन । बोल्न नदिइँदैगर्दा अहिले सदन स्थगित गरिएको छ,’– उनले भने ।

नेता पराजुलीले आफूहरुको माग यथावत नै रहेको र अन्तिम बटमलाईन गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन समिति रहेको पनि उनले सुनाए । ‘हाम्रो माग यथावत छ । हामीले गृहमन्त्रीज्यूको राजीनामा, उच्चस्तरीय न्यायिक छानविन र मानव तस्करीलाई बन्द गरियोस् भनेर राखेको मागहरु यथावत छ,’– उनले भने ।