काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले गृहमन्त्री रमेश लेखकले हल्लाको भरमा राजीनामा दिन नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले हालसम्म गृहमन्त्री लेखकविरुद्ध कहीकतै जाहेरी पनि नपरेको र सामाजिक सञ्जालमा हल्लाको भरमा राजीनामा दिन नहुने बताएका हुन् । उनले लेखकविरुद्ध अहिले कुनै पनि कानूनी प्रश्न नउठेको बताए । ्
‘राजनीतिक दृष्टिकोणले राजनीतिक दलहरुले राजीनामा मागिराखेको कुरालाई मैले अन्यथा भन्ने कुरा भएन । कानूनी रुपले चाहीँ रमेश लेखक, गृहमन्त्री वा अरु कुनै पनि व्यक्तिलाई कुनै पनि अभियोग लाग्नका लागि हल्ला गरेको भरमा, मिडियाले भनेको भरमा, सामाजिक सञ्जालमा मान्छेहरुले रिस पोखेको भरमा मान्छेलाई कुनै अभियोग लाग्दैन । मलाई ज्ञान भएअनुसार कहीँ पनि उहाँलाई उजुरी परेको छैन,’– उनले भने ।
नेता बिडारीले उक्त प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र त्यो संस्था निष्पक्ष र स्वतन्त्र रहेकाले त्यसमा सरकारको कुनै प्रभाव नदेखिने बताए । नेता बिडारीले अख्तियारलाई बहालवाला प्रधानमन्त्रीलाई समेत समातेर जेल हाल्न सक्ने अधिकार संविधानले प्रदान गरेको बताए । नेता लेखक पदमै रहेको अवस्थामा पनि उनी भिजिट भिसा प्रकरणमा जोडिएको खण्डमा अख्तियारले पक्रिएर छानविनको दायरामा ल्याउन सक्ने उनले बताए ।
‘यो अख्तियारले छानविन गरिराखेको छ । यो संवैधानिक अंग हो । यसलाई नेपाल सरकारले छुन पनि सक्दैन । यसलाई कारबाही गर्ने एउटा मात्रै निकाय छ, त्यो संसद् हो । महाअभियोग लगाउने । त्यो बाहेक नेपाल सरकारको प्रधानमन्त्रीलाई पनि अख्तियारले समातेर लगेर थुन्न सक्छ । उसलाई त्यो अधिकार, संविधान बनाउँदा त्यस्तोगरी बनाइएको छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया