दलतन्त्रले जनताको बलिदानीबाट प्राप्त भएको उपलब्धी चकनाचुर पारिदियोः आजपा नेतृ साह


काठमाडौं, १५ जेठ । आज १८औं गणतन्त्र दिवस । गणतन्त्र दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तर्क्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्राध्यापक, कानूनविद र नागरिक समाजको तर्फबाट सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टीको केन्द्रीय कार्यालय सचिव रन्जु साहले दलतन्त्रले जनताको त्याग, तपस्या र बलिदानीलाई चकनाचुर पारिदिएको बताईन् । खासगरी तीन दलका शीर्ष नेताहरुले गणतन्त्रलाई दलतन्त्रमा परिणत गरेको उनको आरोप छ ।

‘दलतन्त्रले जनताको त्याग, तपस्या सबै चकनाचुर पारिदियो । खास गरेर तीन दलका नेताहरुले गणतन्त्रलाई दलतन्त्रमा परिवर्तन गरेका छन् । हाम्रो देशमा बेथितिमात्रै छ । किनभने व्यवस्था नै ठीक छैन,’– उनले भने ।

देशमा देखिएको विकृति र विसंगतिको विरुद्धमा आजपाले संघर्षका कार्यक्रमहरु चलाइरहेको पनि उनले स्मरण गराईन् । भन्सारको लुटकारी प्रावधानको विरुद्धमा आफूहरुले आठ/आठ महिनासम्म संघर्ष गरेर सरकारसँग सहमति गरेको पनि उनले बताईन् । सरकारसँग आफूहरुले गरेको सहमति कार्यान्वयनमा नआएको खण्डमा फेरि आन्दोलन चर्काउने उनको चेतावनी छ ।

‘आम जनता पार्टीले विभिन्न संघर्षहरु गरिरहेको छ । भन्सारको लुटकारी प्रावधानविरुद्ध हामीले आठ/आठ महिना संघर्ष गरेका छौं । म सरकारलाई खुलेआम चुनौति दिन चाहन्छु– हामीसँग गरेको सम्झौता पूरा भएन भने के–के गर्नुपर्छ, हामी गर्छौं,’– उनले भनिन् ।