प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढाल्न आइतबार कुर्नै पर्दैनः प्रचण्ड (भिडिओसहित)


काठकाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग देशभरका जनता असन्तुष्ट रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनता असन्तुष्ट भइरहेको बेलामा वर्तमान सरकार ढाल्न माओवादीले आइतबार कुर्न नपर्ने बताएका हुन् । सरकारले यस्तै नकारात्मक गतिविधि गर्दै गएको खण्डमा जनता आफैं सडकमा आएर यो सरकार ढाल्ने उनको दाबी छ । यद्यपि माओवादी अहिले जनतासँग उनीहरुको समस्या र पीडा बुझ्न गइरहेको र सत्तामा जाने वा सरकार ढाल्ने कुनै खेलमा नरहेको बताए ।

‘हामी सबै शान्ति सम्झौताका सहयात्री हौं । हामीले जनतालाई सरकारको विरुद्धमा उठ्न अपिल अहिलेसम्म गरेका छैनौं । खबरदारीमात्रै गरेका छौं । सरकारले हाम्रो कुरा सुनेन भने त्यो दिन आउँछ । हामी सडकमा जानुपर्ने हुनसक्छ । माओवादी होइन, आम जनता असन्तुष्ट भएपछि सरकार ढाल्न आइतबार कुर्नुपर्ने विषय होइन । अहिले मैले जहाँ गएको छु त्यो भनेको छु । यो तयारी हो । यसरीनै काम गर्दै गयौं भने जनता सडकमा आउँछन् भनेका छौं,’– उनले भने ।

अध्यक्ष प्रचण्डले गणतन्त्र जनताको मनमस्तिष्कमा बसिसकेको र यसलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे । ‘गणतन्त्र जनताले बचाउँछन्, मैले मात्रै होईन । गणतन्त्र जनताको मन मस्तिष्कमा बसिसकेको छ । दलित समुदायहरुको मन मस्तिष्ककमा गणतन्त्र बसिसकेको छ । कसैले उल्ट्याउन सक्दैन । लाखौं करोडौं महिलाहरुको मन मस्तिष्कमा बसेको छ, आदिवासी, मधेशी, थारु, मुस्लिम सबैको मन मस्तिस्कमा गणतन्त्रको महानता के हो भन्ने कुरा बसिसकेको छ । खाली सरकारले राम्रो गर्न सकेन भन्ने रिस जनतामा छ,’– प्रचण्डले भने ।