काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटलाई ‘जालसाजीपूर्ण शब्दको पुलिन्दा’ को संज्ञा दिएका छन् । इतिहासकै बलियो भनेर हुङ्कार देखाइरहेको सरकारले सबैभन्दा कमजोर बजेट ल्याएको माओवादी नेता किरातीको टिप्पणी छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहित बनेको दुई तिहाइ बहुमतसहितको सरकारले निरन्तरतालाई पनि निरन्तरता दिँदै बजेट ल्याएको किरातीले बताए ।
माओवादी नेता किरातीले आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्य एक वर्षमा घुमेर आएको रोटेपिङको एक फन्कोभन्दा बाहेक अर्को केही नौलो नरहेको बताए । यसपटकको बजेटमा वक्तव्यमा बजेट बेगरका शीर्षकहरु समावेश गरिएको उनको टिप्पणी छ ।
‘इतिहासकै बलियो छौं भनेर हुङ्कार छाँटिराखेको सरकारले कमजोर बजेट ल्यायो । कुनै क्रमभंग भएन । यसले निरन्तरतालाई पनि निरन्तरता दियो । बजेट बेगरको शीर्षकहरु धेरै आएको छ । यो कार्यान्वयन हुँदैन । मलाई लाग्छ यस वर्षमा घुमेर आएको यो रोटेपिङमात्रै हो । यसले एक फन्को लगायो । जालसाझीपूर्ण शब्द जालको पुलिन्दामात्रै छ यसमा,’– रिपोर्टर्स नेपालका लागि मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै नेता किरातीले भने ।
बजेट वक्तव्यमा ‘वातावरणलाई स्वच्छ राख्नको निम्ति, पेट्रोलियम पदार्थको बचत गर्नको निम्ति, विद्युतीय सवारी साधानलाई प्रोत्साहन गर्नका लागि पूरानै कुरालाई कायम गरिएको छ’ भन्ने जस्ता शब्दहरु राखेर जालसाझी गर्न खोजिएको उनको आरोप छ ।
नेता किरातीले अब कसको पालमा कस्तो बजेट आयो भन्ने कुरा भन्दा पनि कार्यन्वयन पक्ष किन फितलो भयो र बजेट किन कार्यान्वयन हुन सकिरहेको छैन भन्ने कुरामा गम्भीर हुनुपर्ने बेला आएको बताए । आजभन्दा दशकौं अगाडि सुरु भएको मेलम्ची खानेपानी अलपत्र अवस्थामा रहेको, त्यो बेला सर्वेक्षण गरेको बेजेट आजको दिनमा १० गुणाा बढेको कुराको समीक्षा गरेर सुधार गर्नुपर्ने उनकाे धारणाा छ ।
‘मेलम्ची खानेपानी योजना यतिका वर्षसम्म किन बनेन ? दशौं गुणा मूल्यवृद्धि भएर किन गयो ? सिक्टा सिंचाइ आयोजना कति वर्ष भयो ? यस्ता सयौंको संख्यामा छन् । हामीले यो चिजलाई पहिला सुधार गरेपछि मात्रै बजेट र नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सकिन्छ,’– उनले भने ।
अर्थमन्त्री पौडेलले संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्यमा सत्तारुढ सबैभन्दा ठूला दल नेपाली कांग्रेसकाे कुनै पनि अपनत्व नरहेको नेता किरातीको भनाइ छ । सत्तामै रहेर पनि बजेटलगातका सन्दर्भमा कांग्रेस एकदमै निरीह देखिन थालेको किरातीले बताए । उनले भने, ‘मलाई लाग्छ यो बजेटमा कांग्रेसले त्यति ठूलो अपनत्व लियो जस्तो लाग्दैन । कांग्रेस निरीह नै हो ।’ File Photo/RN




प्रतिक्रिया