शेखरसँग सम्बन्ध ‘रिन्यू’ गर्दै गगन, झण्डै एक वर्षपछि भेट्न गए


काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ । महामन्त्री थापा आज विहान डा.कोइरालाको सचिवालय बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा कोइराला सभापति र थापा महामन्त्रीको उम्मेदवार बनेका थिए । एउटै प्यानलबाट १४औं महाधिवेशनमा लडेका नेताद्वयबीच केही समयदेखि सम्बन्धमा दरार आइरहेको थियो । गगन शेखर समूहबाट अलगिएर छुट्टै गुटको अभ्यासमा लागेको समेत चर्चा हुन थालेको थियो ।

आज नेताद्वयबीच सौहार्दतापूर्ण भेटवार्ता भएको बताइएको छ । नेताद्वय कोइराला र थापाबीच लगभग एक वर्ष (११ महिनाभन्दा धेरै) समयमा भेटवार्ता भएको हो । शेखर–गगनबीचको भेटवार्तालाई एमालेसँगको सत्ता गठबन्धन र कांग्रेसको १५औं महाधिवेशनसँग जोडेर हेरिएको छ ।

पछिल्लो समय सरकारको काम कारबाहीबाट महामन्त्री थापा र नेता कोइराला पनि सन्तुष्ट छैनन् । नेताद्वयले नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरोध गर्दै आइरहेका छन् ।