काठमाडौं, १७ जेठ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता एवं अधिवक्ता भद्रप्रसाद नेपालले देशमा चाँडै नै राजसंस्था पुनर्स्थापना हुने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘राजसंस्था पुनर्स्थापना नहुन्जेलसम्म आन्दोलन हुन्छ । त्यो एकदमै चाँडो स्थापना हुन्छ । यो देशमा प्रधानमन्त्री छैनन् ।’
अधिवक्ता नेपालले अहिले देश प्रधानमन्त्रीविहीन अवस्थामा रहेको दाबी गरे । केपी शर्मा ओलीले काठमाडौं कब्जा गर्नुपर्छ भनेको दिनदेखि उनी प्रधानमन्त्री होइनन् भन्ने पुष्टि भएको अधिवक्ता नेपालको जिकिर छ । उनले ओलीलाई प्रधानमन्त्री पद बोकाको मुखमा कुभिन्डोजस्तो भइरहेको बताए । ‘केपी ओली यो देशको प्रधानमन्त्री होइनन् । केपी ओलीले काठमाडौं कब्जा गर्छु भन्नुभयो । केपी ओलीको होइन, केपी ओली यहाँको प्रधानमन्त्री होइन । केपी ओलीलाई प्रधानमन्त्री भन्ने पद बोकाको मुखमा कुभिन्डोजस्तो भयो,’– उनले भने ।
ओली काक्ताली परेर प्रधानमन्त्री भएको भए पनि आफूहरुले अभिभावकको रुपमा स्वीकार गर्ने कोशिस गर्दागर्दै ओलीले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको बताए । ओलीले हत्या, हिंसा र आतङ्कलाई प्रश्रय देखिएको अधिवक्ता नेपालको दाबी छ । अधिवक्ता नेपालले ओलीले धर्म ढकाल मारेको अभियोगमा १४ वर्ष जेल बस्न परेकोसमेत टिप्पणी गरे । अहिले तिनै ओलीले धर्म ढकालजस्ताको नाती पुस्तालाई पनि मार्नुपर्छ भन्दै हिँडेको अधिवक्ता नेपालको आरोप छ ।
वर्तमान संविधान बमोजिम पनि ओलीलाई प्रधानमन्त्री मान्न नसकिने अधिवक्ता नेपालको जिकिर छ । ‘प्रधानमन्त्रीले त म देशभरी सबैको प्रधानमन्त्री हो, विरोधीहरुको पनि प्रधानमन्त्री हो भन्छ । राजनीतिशास्त्रले त्यस्तो मान्छेलाई प्रधानमन्त्री भन्दैन, जसले राजधानी कब्जा गर्छु भन्छ । अहिले देश प्रधानमन्त्रीविहीन छ । संविधानबमोजिम केपी ओली प्रधानमन्त्री होइन, संविधानले प्रधानमन्त्रीले राजधानी कब्जा गर्छु भन्दैन,’– उनले भने ।




प्रतिक्रिया