काठमाडौं,१७ जेठ । अर्थविद् दीपक ढकालले सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको बजेटको प्राथमिकता नै क्लियर नरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले ल्याएको बजेटलाई नवउदारवादको निरन्तरतामा सामान्य रङ्गरोगनमात्रै गरिएको टिप्पणी गरे ।
‘पहिलो र दोस्रो पार्टीको दुई तिहाइको सरकारले ल्याएको बजेट चाहीँ अलि बढी अपेक्षा गरिएको बजेट थियो । यसले केही न केही अर्थतन्त्रलाई नयाँ दिशा देला, गति र लयमा केही राम्रो काम होला भन्ने खालको थियो । यो बजेट चाहीँ मूलतः नवउदारवादको निरन्तरतामा सामान्य रङ्गरोगन गरेर आएको छ । यो बजेटको मूलतः प्राथमिकता नै छैन भन्छु मैले त । अहिलेको बजेटको प्राथमिकता के हो भन्ने कुरा नै कहीँ क्लियर छैन,’– उनले भने ।
अर्थविद ढकालले नेपालको सबैभन्दा धेरै जनसंख्या कृषिमा आश्रित रहेको तथ्याङ्क स्मरण गराउँदै कृषि क्षेत्रको विकासको निम्ति प्राथमिकतामा बजेट नराखिएको बताए । गत वर्ष ५७ अर्ब २९ करोड विनियोजन गरिएकोमा यो वर्ष १९ करोड थपेर ५७ अर्ब ४८ करोड छुट्याइएको उनले बताए । थपिएको १९ करोडबाट सामान्य मजदुर र किसानले केही आशा गर्न नसक्ने बताए ।




प्रतिक्रिया