काठमाडौं, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापनाको लागि गत जेठ १५ गतेदेखि सुरु भएको आन्दोलनमा सरकारले सहयोग गरिरहेको बताएका छन् । आज (शनिबार) पार्टीको कार्य सम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले नारायणहिटी दरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले आफूहरुको आन्दोलनमा सहयोग पुर्याएको बताएका हुन् । सरकारको उक्त कदमबाट राप्रपाका नेताहरु र राजावादीहरु थप उत्साहित भएको पनि सुनाए ।
‘आज पनि आज पनि यो दुई दिनको आन्दोलनको प्रभाव के रह्यो भने हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँमा आज सरकारले निषेधित क्षेत्र घोषणा गर्यो भनेपछि यो आन्दोलनसँग सरकार डराएको छ । गणतन्त्र झनझन कमजोर हुँदैगएको छ भन्ने प्रमाणित भएको छ । यसले आन्दोलनलाई असर गर्दैन, फाइदा पुगेको भन्ने मलाई लाग्छ,’– उनले भने ।
हिजोसम्म निषेधित क्षेत्र घोषणा नभएको ठाउँलाई राजसंस्था पक्षधरहरुको प्रदर्शन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डरायो र कमजोर भयो भन्ने कुरालाई पुष्टि गर्ने उनले बताए । नेता लिङ्देनले आफूहरुको आन्दोलन उत्कर्षतिर अगाडि बढिरहेको दाबी गरे । सरकारको कदमले आफूहरु कति पनि दुःखी नभएको र बरु थप उत्साहित भएको उनले सुनाए । आज पनि शान्ति बाटिका परिसरबाट आन्दोलनका कार्यक्रम अगाडि बढाइने तयारी रहेको उनले बताए ।
त्यस्तै, गत जेठ १५ गते प्रधानमन्त्री केपी ओलीले राजावादीहरुसँग प्रतिकार गर्न देशभरीबाट आफ्ना कार्यकर्ता बोलाएर कसको पक्षमा जनता धेरै छन् भन्ने कुरालाई प्रमाणित गर्ने अवसर प्रदान गरेको उनले बताए । राजावादीहरुको आन्दोलनसँग सरकार डराएको र झनझन कमजोर सावित हुँदै गएको अध्यक्ष लिङ्देनको दाबी छ ।
अध्यक्ष लिङ्देनले बैठकमा जेठ १५ र १६ गते भएको कार्यक्रमको बृहत रुपमा समीक्षा भएको, कार्यक्रम उत्साहप्रद रहेको निष्कर्ष निकालिएको र आगामी कार्यक्रमलाई अझै मजबुद बनाइने र आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय भएको सुनाए । File Photo/RN




प्रतिक्रिया