नक्कली भुटानी शरणार्थी र भिजिट भिसा काण्डमा भएको मानव तस्करी ओली सरकारको मुख्य कर्म होः माओवादी नेता किराती


काठमाडौं, १७ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान कांग्रेस–एमाले गठबन्धनसहितको सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । वर्तमान सरकारले भिजिट भिसाको नाममा मानव तस्करी गरेर नेपालीको शीर विश्वसामु निहुरिने बताएको उल्लेख गर्दै उनले यस प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्र्दै पूर्वमन्त्री किरातीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र सो सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रोस्टममा उभिएर जवाफ नदिएसम्म अवरोध कायमै रहने पनि बताए ।

‘भिजिट भिषाको नाममा मानव तस्करी गर्ने नालायक सरकारले आज विश्व सामु नेपालीको शिर निहुराएको छ । उच्च स्तरीय छानविन आयोग गठन गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ नदिए हामी संसद हड्ताल गर्छौं,’– उनले भने ।

माओवादी नेता किरातीले नक्कली भुटानी शरणार्थी, भिजिट भिसा प्रकरणलगायतमा भएको मानव तस्करी प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मुख्य कर्म नै रहेको आरोप लगाए । उनले भिजिट भिसा प्रकरण र नक्कली भुटानी शरणार्थीमा भएको मानव तस्करीलाई संयोगमात्रै मान्न नसकिने बताए ।

‘भुटानी शरणार्थी काण्ड, भिजिट भिसा काण्डमा पनि मानव तस्करी गर्ने ओली नेतृत्व सरकार हो । संयोग मात्र होइन, यो मानव तस्करी उहाँहरुको मुख्य कर्म हो,’– उनले भने ।