जनकपुर पुगेर प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा, अबको विकल्प ‘अन्तरीम सरकार’


जनकपुर, १७ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तत्काल सरकार विघटन गरी अन्तरीम सरकार गठनको माग गरेका छन् । बढ्दो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धराशायी बन्दै गईरहेको उनको टिप्पणी छ ।

‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नारासहित आजपाद्धारा आज (शनिबार) जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो माग गरेका हुन् । उनले मुलुकलाई निकास दिनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने आवश्यकत्ता औंल्याए । उनले अब अन्तरीम सरकार नै एकमात्र विकल्प भएको बताए ।

साहले भने,‘मुलुकमा भ्रष्टाचार, लुट र बेथिति बढ्दो छ । दलाल दलतन्त्रले गणतन्त्र बदनाम भएको छ । मुलुक धराशायी बन्दै गईरहेकाले प्रधानमन्त्रीले राजीनामा गरेर अन्तरीम सरकार गठन गर्नुपर्छ । यसको विकल्प छैन् ।’ साहले मुलुक गम्भीर संकटतर्फउन्मुख रहेको दाबी गरे । नेताहरूको मनोमानी, लुट र बेथितिको कारण जनता चरम निराश बनेको र देशको आर्थिक अवस्था खस्किँदै गएको साहको आरोप छ ।

साहले अहिलेको कांग्रेस–एमालेको सरकारलाई दुई दलको भन्दापनि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै गठबन्धनको संज्ञा दिए । देशलाई समस्याबाट पार लगाउनेगरि बजेट नआएको उनको आरोप छ । सरकारले ल्याएको बजेट विभेदकारी रहेको र यसले मुलुकको समस्या समाधान नगर्ने उनको ठोकुवा छ ।

उनले भने,‘वैदेशिक ऋण बढ्दै गईरहेको छ । यहाँको व्यापार तथा व्यवसाय धराशायी हुँदै गईरहेका छन् । सरकारले नेपालको पूँजी विदेश लैजाने बाटो खोलेर नेपालको अर्थतन्त्रलाई डुबाउने काम गरेको छ । जनताको चाहना र आवश्यक्तानुसार सरकारले बजेट ल्याउन सकेको छैन। मानव विकास सूचांकमा पछाछि परेको मधेस र कर्णालीलाई यो सरकारले बजेटमा देखिनेगरि विभेद गरेको छ ।’

सरकारको बजेटले नेपाललाई उजाड बनाउने उनको आरोप छ । उनले बजेटले जनतालाई निराश बनाएको टिप्पणी गरे । उनले भने,‘यो बजेट देश र जनताको लागि होईन, सिधै नेताहरूको भुँडी भर्नेखालको छ, वितरण पुरै असमान छ । सरकारले नेपालको पूँजी खुलेआम विदेश लान पाउने व्यवस्था गर्यो । यो गम्भीर प्रश्नको विषय हो । राष्ट्रिय पुँजी विदेश पलायन रोक्नुको साटो उल्टै लैजानको लागि प्रोत्साहन गर्ने राज्यसँग जनताले के आशा गर्ने ? सरकारले २५ प्रतिशत विदेश लान पाउनेगरि व्यवस्था गर्नु भनेको सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन खोजेको प्रस्ट हुन्छ । सरकारले बजेट बनाउदा बिचौलियालाई गुण तिरेको छ।’

सो क्रममा पूर्वमन्त्री साहले सिमावती क्षेत्रमा रहेका प्रहरीले नेपाली जनताको निजी सम्पत्ति लुट्ने काम गरिरहेको भन्दै गम्भीर प्रश्न उठाए । भन्सारको नाममा आम जनताको निजी सम्पती लुट्ने कार्य आफूहरुलाई स्विकार्य नभएको उनको चेतावनी छ । जनताले अब प्रहरी प्रशासनको ज्यादती नसहने र आवश्यक परे प्रतिकार गर्ने उनले चेतावनी दिए ।

उनले सरकारले नक्कली भिजिट भिसाको नाममा मानव तस्करी गरिरहेको गम्भीर आरोप लगाए । साहले मानव तस्करी गरिरहेको सरकारले मधेसमा भन्सारको नाममा जनताको निजी सम्पत्ति लुट्ने काम गरिरहे सशक्त प्रतिकार हुने र आफूहरुलाई स्विकार्य नहुने खुला चूनौति दिए । अहिलेको सरकार र गठबन्धनले नेपालमा लुटेर विदेशमा नेपालको पूँजी लैजाने वर्गको संरक्षण गरिरहेको आरोप लगाए । सरकार लुटेराहरुको पक्षपोषक बनेको उनको आरोप छ ।

आजपा मधेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरू रीता देवी साह, अशोक लामा, बिल्टू यादव, श्रीचन मुखिया, राधेश्याम साहलगायतको विशेष सहभागिता रहेको थियो ।