नेपालमा नयाँ मोडलको राजतन्त्रात्मक गणतन्त्रको आवश्यकता छः राजनीतिक विश्लेषक रायमाझी


काठमाडौं, १७ जेठ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेपालमा गणतन्त्रको प्रयोग असफल सिद्ध भइसकेको बताएका छन् । पाइम टाइम्स टेलिभिजनको प्राइम संवाद कार्यक्रममा आफ्ना धारणा राख्दै उनले गणतन्त्र असफल भइसकेको र नेपालको लागि अब आवश्यक नरहेको बताएका हुन् । उनले अब नेपालमा राजसंस्था अपरिहार्य भइसकेको बताए । उनले राजा हिन्दु सम्राट हुनेगरी नयाँ मोडलको डेमोक्रेशीको अभ्यास नेपालको लागि आवश्यक रहेको बताए । राजनीतिक दलमा रहेका खराब व्यक्तिहरुको कारण जनतामा व्यवस्थाप्रति विश्वास नै टुटिसकेको विश्लेषक रायमाझीको दाबी छ ।

‘नेपालमा गणतन्त्र प्रयोग भइसक्यो । यसले काम गर्न सकेन । यो असफल भयो । अब चाहिँदैन । राजसंस्था चाहियो । राजसंस्था र राष्ट्रपति पनि राख्न सकिन्छ । धार्मिक राजा, हिन्दु सम्राट र जनताले शासन गर्ने नयाँ मोडलको डेमोक्रेशीको अभ्यास आवश्यक देखियो,’– उनले भने ।

विश्लेषक रायमाझीले अब नेपालमा कुनै पनि हालतमा गणतन्त्र नरहने र रह्यो भने पनि राजतन्त्रात्मक गणतन्त्र रहने बताए । ‘कुनै पनि हालतमा अब नेपालमा गणतन्त्र रहँदैन । रह्योभने पनि राजतन्त्रात्मक गणतन्त्र रहन्छ, राजासहितको । जुन किसिमको अहिलेको जस्तो गणतन्त्र अगाडि लान्छौं भन्ने कल्पना छ नि यो असफल भइसक्यो । २०७२ सालमा जारी भएको संविधान पूर्ण रुपमा असफल भइसक्यो,’– उनले भने ।

उनले राजाको काम हिन्दु वैद्धिक सनातन धर्मको रक्षा गर्ने र स्वतन्त्र रुपमा रेफ्रीको रुपमा राजसंस्थाले काम गर्नेगरीको व्यवस्था अबको आवश्यकता रहेको उनको भनाइ छ । अहिलेको आन्दोलनको उद्देश्य गणतन्त्रवादीहरुलाई जेल हाल्ने र दलहरुलाई प्रतिबन्ध लगाउने भन्ने नरहेको उनको दाबी छ । विश्लेषक रायमाझीले राजा अभिभावको रुपमा मात्रै आउने र सबै दल मिलेर देश चलाउने बताए । अहिलेका राष्ट्रपति सबैको अभिभावक नै बन्न नसकेको, केवल दलको मात्रै बनेको उनको आरोप छ ।

साथै, राजा र हिन्दु राष्ट्रका एजेण्डा बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टीले भोटको राजनीति गरिरहेको उनको आरोप छ । विश्लेषक रायमाझीले राजा र हिन्दु राष्ट्र आइसकेपछि राप्रपाको एजेण्डा नै सकिने भएकाले यसले निर्णायक रुपमा राजा ल्याउन भूमिका नखेल्ने बताए । राजा र हिन्दु राष्ट्रको नाममा पाएको भोटबाट राप्रपाले सत्ताको बार्गेनिङ गर्ने गरेको उनको आरोप छ ।

‘यिनीहरु पार्टीको नाममा भोट मागिरहेका छन् । राजा र हिन्दु राष्ट्रको एजेण्डा त राप्रपाले बोकेको छ नि । राजा र हिन्दु राष्ट्रको कुरा गरेर उसको पार्टीलाई ठूलो बनाउनु छ । धेरै सिट ल्याएर सत्तामा बार्गेनिङ गर्नुछ । राजा, हिन्दु राष्ट्र आइसकेपछि त राप्रपाको एजेण्डा नै सकियो नि । त्यसैले अहिले राजसंस्था सर्वसाधरण जनता र राप्रपाभन्दा बाहेकका शक्तिले मागिरहेका छन्,’– विश्लेषक रायमाझीले भने ।

साथै, भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले अहिले राजीनामा दिनु उपयुक्त नहुने उनले बताए । मन्त्रीले राजीनामा दिएको खण्डमा उक्त प्रकरण त्यत्तिकै सामसुम हुने खतरा रहेको उनको भनाइ छ । भिजिट भिसा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतमा ठूलो नेटवर्क रहेको दाबी गर्दै उनले एक जना कर्मचारी र गृहमन्त्रीलाई मात्रै दोष लगाएर उन्मुक्ति दिन नमिल्ने बताए ।

‘यो प्रकरणमा मन्त्रीले राजीनामा दिँदा त्यति उपयुक्त हुँदैन । किनभने दोष लगाएर मन्त्रीलाई पन्छाएपछि अहिलेको घटना सामसुम हुन्छ । यहाँभित्र ठूलो नेटवर्कक छ । आजबाट होइन नि यो २०४६ सालपछि सुरु भएको हो । विशेषगरी भुटानी शरणार्थी नेपालमा आएर तिनीहरुलाई अमेरिका वा अन्य देशमा पठाउने भनियो । यसपछि सुरु भएको घटना हो यो । मन्त्रीलाई मात्र दोष लगाएर यो घटनामा उन्मुक्ति दिन मिल्दैन । गृह प्रशासन, कर्मचारीतन्त्रमा ठूलो माफियाको गिरोह छ,’– उनले भने ।