ज्ञानेन्द्रलाई हत्या अभियोगमा जेल हाल्ने माओवादी नेता कार्कीको चेतावनी (भिडिओसहित)


काठमाडौं, १७ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता पवन कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हत्या अभियोगमा जेल हाल्ने चेतावनी दिएका छन् । नेता कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि माओवादी आन्दोलनमा होमिएका नेपालीहरुलाई ज्ञानेन्द्रको आदेशमा हत्या गरिएको भन्दै नेता कार्कीले अब ज्ञानेन्द्रले यस्तै प्रकारका हर्कत गर्दै गएको खण्डमा जेल पठाइने बताएका हुन् ।

नेता कार्कीले जनयुद्ध उत्कर्षमा पुगेको बेलामा देशको ८० प्रतिशत भूभाग माओवादीको कब्जामा पुगेपछि ज्ञानेन्द्रले अब देश नै छाडेर भाग्नुपर्ने हो कि भनेर शासनसत्ता जिम्मा लगाएको उनले सुनाए । राजावादीहरुलाई धेरै फु्र्ती नगर्न चेतावनी दिँदै उनले भने, राजावादीहरुले धेरै फुर्ती नगरे हुन्छ । १७ हजार नेपाली जनताको बलिदानबाट यो गणतन्त्र आएको हो । त्यसको हत्यारा ज्ञानेन्द्र शाह हो । तपाईँ (राजावादीहरु) को ज्ञानेन्द्र शाहलाई हत्याको अभियोगमा थुनिन्छ क्या । बढी गतिविधि गर्दै जाने हो भने छानीछानी थुनिन्छि । हिजो हाम्रा साथीहरुलाई संविधान र गणतन्त्र भन्दा गोली ठोकेको होइन ? अब कुनै हालतमा छोड्दैनौं ।’

नेता कार्कीले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) को गलत गतिविधिको फाइदा अहिले राजवादीहरुले उठाउन खोजेको बताए । कांग्रेस–एमालेले सही ढंगले शासन सञ्चालन गर्न नसक्दा राजावादीहरुलाई प्रश्रय मिलेको उनको भनाइ छ । ‘जनयुद्धद्वारा स्थापित गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र जसको हातमा, नेतृत्वमा पुग्यो नि, उसले सही ढंगले चलाउन सकेन । हामीले पनि प्रश्न गरिराखेका छौं । आज एमाले–कांग्रेसले सही ढंगले सत्ता सञ्चालन नगरेको कारणले उहाँहरु (राजावादी) लाई अलिअलि प्रश्रय मिलेको हो । एमाले–कांग्रेसहरुले सही ढंगले गरेका छैनन्,’– उनले भने ।