काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् । महिमानलाई एक लाख धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध रेशम उच्च अदालत पुगेका हुन् । निवेदन अहिले दर्ताको प्रक्रियामा रहेको बताइएको छ ।
गत वैशाख १७ गते महिमानले चौधरीलाई थुनामा पठाउने पत्र लेखेका थिए । उक्त पत्रको आधारमा विचाराधीन मुद्दामा चौधरी पक्राउ परेका थिए । उनी करिक ५ घण्टा कारागार बसेपछि महिमानले किर्ते गरेर पत्र लेखेको खुल्न आएको थियो । रेशम करिब ५ घण्टा थुनामा रहेर सर्वोच्चको आधिकारिक पत्रको आधारमा थुनामुक्त भएका थिए ।
महिमानविरुद्ध सरकारी लिखत किर्तेमा मुद्दा चलाएकोमा काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेको थियो । महिमानलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने निवेदक चौधरीको माग छ ।




प्रतिक्रिया