बाणिज्य बैंकहरुले देशको सारा सम्पत्ति लुट्दैछन्, यसरी लुट्न दिन हुँदैनः कांग्रेस नेता कान्छाराम


काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले बाणिज्य बैंकहरुले देशको साह्रा सम्पत्तिहरु लुट्न लागेको आरोप लगाएका छन् । आज (सोमबार) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अहिले ७० प्रतिशत मानिसहरुलाई बैंकले हातखुट्टा बाँधेर राखिदिएको बताए । भुकम्पक र कोरोनाको बेलामा आफूले घर भाडामा लगाउँदा समेत भाडामा बस्नेहरुलाई एक दुई महिनाको छुट दिएको स्मरण गराउँदै उनले देशका २० वटा बाणिज्य बैंक कुनैले पनि सहयोग नगरेको बताए ।

उनले बाणिज्य बैंकको न्यूनतम पुँजी घटाएर सिन्डिकेट तोड्नुपर्ने बताए । उनले भने, ‘सिन्डिकेट लगाएर जनतालाई हतकडी लगाउने काम भएको छ राष्ट्र बैंकबाट । बैंक भन्ने कुरा त आठै अर्ब किन चाहियो ? पाँचै अर्बले पनि चलाउन सक्ला, चारै अर्बले पनि चलाउन सक्ला । यहाँको पालोमा यो सिन्डिकेट हटाउनुपर्यो । यो सिन्डिकेट हटाइएन भने बैंकहरुले सारा देशको सम्पत्ति लुट्दै छ, लुट्न दिन हुँदैन । अहिले इन्सुरेन्स हेर्यो । तीन पुस्ते नागरिकता भएको इन्सुरेन्स १० जनाको पनि छैन । २० वटा बैंकका नेपाल बैंक, बाणिज्य बैंक र कृषि विकास बैक त सरकारकै भइहाल्यो । अरु बैंकमा हेर्नुहाला तिन पुस्तेको दर्ता गर्ने हो भने एउटा पनि छैन होलाजस्तो लाग्छ । नम्बर एकमा यहाँले बैंकको क्यापासिटी घटाएर ४/५ अर्बमा ल्याउनुपर्छ ।’

उनले गभर्नर विश्व पौडेललाई आफ्नो कार्यकालमा बैंकको सुधार गरिदिन आग्रह गरे । क्षमताले भ्याउने, सम्पत्ति मूल्याङ्कन गरेर भ्याउने व्यक्ति वा कम्पनीहरुलाई बैंकले लोन दिनुपर्ने उनले बताए ।