तस्बिर प्रदर्शनीले पर्वतीय पर्यटनको सम्भावनालाई उजागर गरेको छ : सचिव भट्टराई


काठमाडौँ, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेशकुमार भट्टराईले राससले प्रदर्शन गरेको तस्बिरले पर्वतीय पर्यटनको सम्भावनालाई उजागर गरेको बताएका छन् ।

राससमा गणतन्त्रका अवसरमा आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गर्दै सचिव भट्टराईले प्रदर्शनीमा राखिएका ९६ वटा तस्बिरहरुले पर्वतीय पर्यटनको सम्भावनालाई उजागर गरेको बताए ।

“केही वर्षदेखि राससले रचनात्मक काम गर्दै आएको छ, असाध्यै खुसी लागेको छ, यस पटक पर्वतीय पर्यटनको सम्भावनालाई उजागर गरेको छ,” सचिव भट्टराईले भने, “प्रदर्शनीमा राखिएका ९६ वटा फोटोमा पूर्वको कञ्चनजङ्घादेखि लिएर दार्चुलाको अपीसम्मका फोटोहरु छन्, बीचमा सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे रुकुमको जलजला, सिस्नो हिमाल, विभिन्न स्थानको हिमालको फोटोहरु हेर्दा खुसी लाग्यो ।”

यस्ले नेपालको पर्यटकीय क्षमता र गन्तव्यलाई प्रकट गरेको उल्लेख गर्दै सचिव भट्टराईले हिमाल आरोहण एउटा साहसिक पर्यटन भएको र यसको प्रचारमा समेत सहयोग गर्ने बताए ।

“प्रदर्शनीमा साहसिक पदयात्रा, ग्रेट हिमालय ट्रेलको नजिकका तस्बिर छन्, ग्रेट हिमालयल ट्रेल १२० दिनको ट्रेल हुुन्छ, धेरै साहसिक टे«ल हो त्यो,” उनले थपे, “कञ्चनजङ्घा, मकालु, अन्नपूर्ण, खुम्बु, अपीलगायत विभिन्न स्थानमा आकर्षण गन्तव्यहरु छन्, तस्बिरले नयाँ नयाँ पर्यटीय स्थानलाई देखाएको छ ।”

प्रदर्शनीमा राखिएका तस्बिरलाई प्रकाशन गरेर छोटो रुपमा परिचयसहित त्यो ठाउँमा कसरी पुग्ने, होटल खाने–बस्ने व्यवस्थाका बारेमा तयार गरेर देश÷विदेश पठाउन सकेमा राम्रो हुने उनको भनाइ थियो ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भएका एमाले सचिव भट्टराईले जलवायु परिर्वतनको अवसरले नेपालको हिमालमा नराम्रो प्रभाव परेको बताए ।

“जलवायु परिर्वतनका कारण हिमालमा हिउँ पग्लिएर काला पहाड भएका छन्, हिमनदीहरु बेमौसममा फुट्ने, बेमौसमको पानी पर्ने,” उनले भने, “सिङ्गो मानव बस्ती र वन्यजन्तुलाई पनि असर परेको छ, यसलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ, सरकारले सगरमाथा संवाद ग¥यो ।”

दुई वर्षअघि पनि संयुक्त राष्ट्र महासङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरी जलवायु परिवर्तनबाट नेपाल पीडित रहेको र जलवायु कोषबाट नेपालले पाउनुपर्ने सुविधाका बारेमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एमाले सचिव भट्टराईले संयुक्त राष्ट्र महासङ्घका महासचिवमार्फत नेपालको मुद्दा विश्वमा पुगेको तर न्याय पाउने कुरा जरुरी भएको बताए । उनले ठूला औद्योगिक राष्ट्रले नेपालजस्ता मुलुकलाई दिनुपर्ने क्षतिपूर्ति दिने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । उनले प्रदर्शनमा राखिएका तस्बिरहरुले पनि अन्तरराष्ट्रियस्तरमा आफ्नो विषय राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।