सदनको अवरोध एकजना व्यक्तिको राजनीतिक भविष्य सकाउन र राजीनामा माग्नको लागिमात्रै होइनः मनिष झा


काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सदनको अवरोध एकजना व्यक्तिको राजनीतिक भविष्य सकाउन र गृहमन्त्रीको राजीनामाको लागिमात्रै नरहेको बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अध्यागमनमा आगामी दिनमा कोही पनि नेपाली ठगिन नपरोस् भनेर आफूहरुले उच्चस्तरीय छानविन समिति र छानविनको प्रक्रिया नसकिँदासम्मका लागि गृहमन्त्रीको राजीनामा माग गरेको बताए । रास्वपा प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा ठगिनेहरुको संख्या निकै ठूलो हुनसक्ने बताए । रास्वपाकै सांसद हरि ढकालको ह्वाट्सएपमा चार दिनको अवधिमा एक हजार दुई सय जनाले आफू अध्यामनमा ठगिएको भनेर प्रमाणसहित पठाएको उनले सुनाए ।

‘सदनको बैठक अवरोधको कारण चाहिँ एक जना व्यक्तिको राजनीतिक भविष्य सकाउनको लागि र राजीनामा माग्नको लागि होइन । यो कुरामा तपाईँहरु स्पष्ट हुनुस् । यो देशमा कति मान्छे दैनिक रुपमा ठगिदा रहेछन् अध्यागमनमा ? हरि ढकालले ह्वाट्सएप नम्बर राख्दैमा चार दिनमा १२ सय मान्छेले पठाए भने मान्छे ठगिँदैरहेछ भन्ने कुराको त प्रमाण आयो नि,’–उनले भने ।

नेता झाले आफूहरुले अध्यागमनमा मान्छे नठगियोस्, मान्छेलाई ठग्न नपाओस् भन्ने प्रस्ताव ल्याइरहँदा सत्तापक्ष भने कर्मचारी त समातिएको हो नि भनेर पन्छिन खोजेका बताए । उनले यही देशको कर्मचारी समातिएपनिछ विहारको मुख्यमन्त्रीले त्यसको जिम्मा नलिएर यही देशको सरकारले जिम्मा लिनुपर्ने बताए । एउटा व्यक्तिको लागि भन्दा पनि आफूहरुले समस्यालाई महत्वपूर्ण रुपमा लिएको बताए ।

यसमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले अलि संवेदनशीलता देखाउनुपर्नेमा कर्मचारी त समातेको हो नि भनेर पन्छिन खोजेको बताए । यस प्रकरणमा अख्तियारको दायराले नपुग्ने भएकाले प्रतिपक्षले छानविन समितिको माग गरेको बताए । File Photo/RN