मातहतको कर्मचारीले गल्ती गर्दा वा उसलाई सरुवा गर्दा मन्त्रीले राजीनामा दिन पर्दैनः कांग्रेस नेता रोकाया


काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक कृष्णबहादुर रोकाया सरकारले कुनै कर्मचारीको सरुवा गर्दा वा कुनै कर्मचारी विवादमा तानिँदा मन्त्रीले नै राजीनामा गर्नुपर्छ भन्नु गलत रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग गरिनु गलत रहेको बताएका हुन् । नेता रोकायाले यस्तो प्रकारको गतिविधिले भोलिका दिनमा गलत नजिर बस्दै जाने बताए ।

‘मन्त्रीले कुनै कर्मचारीलाई सरुवा गर्दा पनि संसद् अवरुद्ध हुने, मातहतको कर्मचारीले गल्ती कमजोरी गर्दा मन्त्रीले राजीनामा दिनुपर्ने र राजीनामको माग गर्दै संसद् अवरुद्ध गर्ने हामीले यही तरिकाको नजिर बसाल्दै गयौं भने यो मुलुक कहाँ पुग्ला ? यो व्यवस्था कहाँ पुग्ला ? र हामीले कस्तो खालको राजनीतिको विकास गर्न खोजेका हौं । यो मैले बुझ्न सकिन,’– उनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीविरुद्ध कुनै उजुरी पनि नपरेको र अख्तियार वा अन्य कुनै निकायले छानविनको लामिसमेत नबोलाएको भन्दै उनले राजीनामा दिन आवश्यक नरहेको बताए । अध्यागमन विभागका तत्कालीन प्रमुख भट्टराईलाई पनि अख्तियारले मोवाइललगायतका डिभाइस नियन्त्रणमा लिएर सामान्य सोधपुछ गरेर छाडिदिएको बताए ।

‘हामीलाई अचम्म लागिरहेको छ, यस पटक गृहमन्त्रीको कसरी नाम जोडिएर आयो ? अध्यागमन विभागको एक जना कर्मचारीको बारेमा के भएको छ, त्यो त छानविनपछि आउला नै । तर, आज सामाजिक सञ्जालमा जुन कुरा आएको छ, त्यही सामाजिक सञ्जालमा आएको कुरालाई आधार मानेर जुनखालको धारणा बनाएर आज प्रचार गरिएको छ । जुनखालको भाष्य निर्माण गरिएको छ । जसरी दल र दलका जिम्मेवार नेता र मन्त्रीलाई दोषी बनाउने काम गरिएको छ । यो अन्त्यन्त दुःखद् कुरा हो,’– उनले भने ।