गृहमन्त्री लेखक प्रधानमन्त्री ओलीको षड्यन्त्रको शिकार भएको प्रभु साहको आरोप, सम्झाए रवि प्रकरण


नेपालगञ्ज, २१ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको शिकार भएको बताएका आरोप लगाएका छन् । ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने मूल नाराका साथ आज (बुधबार) नेपालगञ्जमा आजपाद्धारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले भिजिट भिसा काण्ड प्रधानमन्त्री निवास बालुवाटारमा बुनिएको काण्ड भएको गम्भीर आरोप लगाए ।

‘प्रधानमन्त्रीको कनेक्सन गृहमन्त्रीलाई फसाउने र मोरदेन कांग्रेस बनेर गिजोल्ने काम भईरहको छ । यो सबै घटनाक्रम हेर्दा भिजिट भिसा प्रकरण बाहरि आउनुमा प्रधानमन्त्री ओलीको हात छ । यहाँ प्रष्टै देखिन्छ कि काखमा राखेर छुरा हान्ने काम भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘रवि लामिछानेमाथि पनि यस्तै भएको थियो, शुरुमा सहकारी प्रकरणमा निर्दोष रहेको भन्ने केपीले नै दोषी बनाई जेल पठाउनुभयो । हेर्दै गर्नुहोस यो प्रकरणमा गृहमन्त्रीले कुनैपनि हालतमा राजीनामा दिनुपर्दैन भनेर ठूलो स्वरमा भन्ने प्रधानमन्त्री ओलीले अझै के–के गर्नुहुन्छ ।’

नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्दै उनले बाहिर गठबन्धनजस्तो देखिएपनि भित्र–भित्र काटमार र एकले अर्कोलाई सिध्याउने खेल चलिरहेको टिप्पणी गरे । अप्राकृतिक एवं अपवित्र अहिलको गठबन्धनका कारण मुलुक र जनताले दुःख पाईरहेको र जनता निरास भएको साहको भनाई छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा गरेर अन्तरीम सरकार गठन गर्न सुझाव दिए । मुलुक र जनताको भविष्यका लागि अहिले अन्तरिम सरकार गठन गरेर अगाडी बढनुको विकल्प नभएको साहको भनाई छ ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रीको काममा समेत अनावश्यक हस्तक्षेप बढाएको साहको आरोप छ । उनले भने,‘एनआरएनए परराष्ट्र मन्त्रालय मातहतको बिषयमा पनि प्रधानमन्त्रीले अनावश्यक हस्तक्षेप गरेर विवाद गराउनुभयो । परराष्ट्र मन्त्रालयमाथिको हस्तक्षेपलगत्तै अहिले गृहमन्त्रालयमा प्रधानमन्त्रीको हस्तक्षेप भएको देखिन्छ, अख्तियार प्रधानमन्त्रीकै नियन्त्रणमा छ, त्यहीँबाट अध्यागमनमा छापा मार्ने लगायतका सूचनाहरु चुहाएर मिडियाबाजी गर्ने गराउने काम कसरी भयो ? यी सबैलाई हेर्दा काखमा राखेर छुरा हान्ने काम बालुवाटारबाटै भईरहेको छ ।’

उनले बाहिर प्रतिपक्षी दलका कारण विधेयकहरु पारित नभएको जस्तो देखिएपनि सत्तारू गठबन्धनको आन्तरिक कलहले नै विद्येयकहरू अघि बढ्न नसकेको र अलपत्र पारिएको आरोप लगाए । कांग्रेस–एमालेको यो दुई तिहाईको शक्तिशाली सरकारले सामान्य बहुमतले पारित हुने विधेयकहरु समेत अल्झाएर राखेकोमा साहले आक्रोश पोखे ।

यस्तै, उनले तराई÷मधेसका समस्याबारेमा मौन रहेको वर्तमान सरकारले नेपालगञ्जसहितको विकास नचाहेको बताए । बजेटमै विभेद गरेर तराई÷मधेसलाई अझै पछाडी धकेल्ने काम सरकारले गरिरहेको उनले आरोप लगाए ।

विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको ऐतिहासिक शहर नेपालगञ्जसहित पश्चिमी तराई मधेसको विकास, समृद्धिलाई सरकारले पूरै उपेक्षा गरेकोमा पनि साहले असन्तुष्टि जनाए । मुलुकमा बढदो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै गईरहेको बताउदै उनले सरकारको मनोमानी, करआतंक, लुटतन्त्र एवं भ्रष्टाचारको बिरुद्धमा एकजुट भएर आवाज उठाउन र संघर्षमा उत्रिन आह्वान समेत गरे ।

आजपा नेता भगतजीको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताह त्रिभुवन साह, डा. उसमान, शम्भु जयसवाल लगायतको विशेष सहभागिता रहेको थियाो ।