सर्वोच्चको परमादेश र परराष्ट्रमन्त्रीको उपस्थितिमा भएको एनआरएनएको महाधिवेशनमाथि प्रश्न उठाउने ठाउँ नै छैनः कोषाध्यक्ष ढुङ्गाना


काठमाडौं, २२ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष ठाकुर ढुङ्गानाले विदेशमा जाने नेपालीहरुमा सीपको कमी रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वैदेशिक रोजगारीमा जाने नेपालीमा सीप र प्रिओरिन्टेसनेको अभाव रहेको बताएका हुन् । ‘रोजगारी, लगानी, सुरक्षा केहीमा पनि समस्या छैन । समस्या सीपमूलक तालिम नलिएका र प्रि ओरिन्टेसनको कमीमात्रै हो । सबैजना सुखी र खुसी छन्,’– उनले भने ।

साथै, उनले महेश श्रेष्ठ नेतृत्वको एनआरएनए नै आधिकारिक रहेको दाबी गरे । परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्रीको संलग्नतामा भएको अधिवेशनबाट चयन भएको नेतृत्वमाथि प्रश्न उठाउन आवश्यक नै नरहेको उनको भनाइ छ ।

‘परराष्ट्रमन्त्रीज्यू आफैं आएर अधिवेशन सम्पन्न भइसकेको छ । महेश श्रेष्ठज्यूको अध्यक्षतामा नयाँ कार्यसमिति बनिसकेको छ । केही साथीहरु छुट्नुभएको छ । अब ती साथीहरु केही समयमा समायोजन हुनुहुनेछ । हाम्रो अध्यक्षज्यूले लविङ गरिरहनुभएको छ,’– उनले भने, ‘सर्वोच्च अदालतको परमादेशअनुसार परराष्ट्र मन्त्रालयको निर्देशन, परराष्ट्र मन्त्रालयको संलग्नतामा निर्वाचन भएर महेश श्रेष्ठ अध्यक्ष भएर पनि आधिकारिकता कसको हो भन्ने सवाल रहँदैन ।’

साथै, उनले भिजिट भिसा प्रकरणमा अहिले देखिएको समस्या समाधानको लागि नीति निर्माण तहबाटै समाधान खोजिनुपर्ने बताए । उनले सरकारको नीति निर्माण गर्ने तह र नियमन निकायले यसलाई अझ बढी ध्यान दिन आवश्यक रहेको बताए । ‘केही व्यवसायीलाई जोडेर कर्मचारीहरुसँगको मिलेमतोमा गए भन्ने पनि आयो । कोही पनि त्यस्तो जान असक्षम मान्छेहरुलाई चाहीँ पैसा खाएर गर्छन् भने ती अपराधी हुन् । यदि कसैले त्यो गरेर मिलेमतोमा गरेको छ भने नियमन गर्ने निकायले सजाय दिनुपर्छ,’– उनले भने ।