संसद्को गत्यवरोध अन्त्यका लागि अधिकतम् जोड दिने माओवादीको तयारी


काठमाडौं, २२ जेठ । नेकपा (माओवादी केन्द्र) ले संसद्को गत्यवरोध अन्त्यका लागि अधिकतम् जोड दिने भएको छ । आज (बिहीबार) बसेको माओवादी पदाधिकारी बैठकलले संसद्को गत्यवरोध अन्त्यको लागि सिर्जनात्मक र रचनात्मक ढंगले भूमिका खेल्ने निर्णय गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भिजिट भिसा प्रकरणमा छानविन भने अपरिहार्य रहेको बताए । उनले आफूहरुको चासो व्यक्ति विशेषका बारेमा नरहेको पनि दाबी गरे । यस विषयलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने माओवादीको निर्णय रहेको प्रवक्ता सापकोटाले बताए ।

‘सदनको बारेमा हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने छ । सिर्जनात्मक, रचनात्मक ढंगले हामी निकास निकाल्न लाग्नेछौं । हाम्रो मुख्य कुरा के हो भने विषय असाध्यै गम्भीर छ । यी विषयहरुमा छानविन अपरिहार्य छ । मुख्य चाहीँ छानविन हो । हाम्रो व्यक्ति विशेष आदिमा त्यतिधेरै ध्यान छैन । मुख्य चाहीँ छानविन हो भन्ने छ । निरन्तर कुरा भइराखेको छ । हिजो पनि कुरा भइराखेको छ । यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको संसद् स्थगित भएको छ,’– उनले भने ।

माओवादी भिजिट भिसा प्रकरणमा निकै गम्भीर रहेको र छानविनको लागि वातावरण बनाउनुपर्छ भन्ने अडानमा रहेको पनि उनले बताए । निकास कसरी निकालिने भन्ने बाँकी कुरा विपक्षी दलको बैठकबाट निष्कर्षमा पुगिने नेता सापकोटाले बताए ।