माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि महेश बस्नेतको प्रतिक्रिया : माकुनेको ‘सन्त प्रवृत्ति’ को पर्दाफास भयो


काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि ‘माकुनेको सन्त प्रवृत्ति’ को पर्दाफास भएको टिप्पणी गरेका छन् । अख्तियारले आजमात्रै नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसबारे आफ्नो धारणा राख्ने क्रममा नेता बस्नेतले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्,‘अब अख्तियारले औपचारिक रूपमा मुद्दा दायर गरेसँगै आफूलाई नैतिकताको ठेकेदार ठान्ने माकुनेको ‘सन्त प्रवृत्ति’ को पर्दाफास भएको छ। यसअघि पनि बालुवाटारको करिब ३०० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिइसकेका उनी, राजनीतिक आवरणभित्र लुकेको शक्तिको गलत प्रयोगको एउटा प्रतीकजस्तै देखिएका छन्।’

बस्नेतले लेखेका छन्–

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलीको नाममा गरिएको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेछ।

यो अख्तियारले पूर्वप्रधानमन्त्रीविरुद्ध दायर गरिएको पहिलो मुद्दा हो। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा आयुर्वेदिक विश्वविद्यालय स्थापनाको नाममा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न स्वीकृति दिएको थियो। तर पतञ्जलीले त्यसभन्दा बढी जग्गा किनेर, ३५३ रोपनी १५ आना जमिन अन्यत्र बिक्री गरेको थियो, जुन विद्यमान भूमिसम्बन्धी कानुनविपरीत ठहरिएको छ। सरकारी छानबिन समितिले यसलाई स्पष्ट दुरुपयोग भनेको थियो।

अब अख्तियारले औपचारिक रूपमा मुद्दा दायर गरेसँगै, आफूलाई नैतिकताको ठेकेदार ठान्ने माकुनेको ‘सन्त प्रवृत्ति’ को पर्दाफास भएको छ। यसअघि पनि बालुवाटारको करिब ३०० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिइसकेका उनी, राजनीतिक आवरणभित्र लुकेको शक्तिको गलत प्रयोगको एउटा प्रतीकजस्तै देखिएका छन्।

हिजो मात्रै पनि सुदूरपश्चिमको पूर्व मुख्यमन्त्री उनकै कारिन्दा दीर्घप्रसाद सोडागीलाई अख्तियारले डेढ करोड भन्दा बढी रकम हिनामिनामा मुद्दा चलाएको थियो। पछिल्ला दिनमा अख्तियारले गरेको साहसिक कार्यको सम्मान गर्नैपर्छ।