काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीले सत्ताको रापतापमा देश र जनतालाई घाटा हुने काम गर्ने जो–कोहीमाथि पनि छानविन र कानुनी कारबाही हुनुपर्ने बताएका छन् । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नीतिगत निर्णयमा पनि मुलुक र जनतालाई घाट हुन नहुने बताए ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका माधव कुमार नेपालविरुद्ध पतञ्जली जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको प्रसंगमा उनले भने,‘सत्ताको राप र तापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुभएन भन्ने कुरा नेताहरु पनि बुझ्नुपर्यो । अब माधव नेपाल पर्नुभयो । यो तरिकाले त धेरै मानिसले गल्ती गरेका छन्, नीतिगत रुपमा होस् वा बाहिर होस् ।’
नेता भण्डारीले मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै जे पायो त्यही गर्ने छुट कसैलाई नरहेको बताए । उनले व्यक्ति सत्तामा आउने, जाने भइरहने भए पनि राज्य र जनतालाई घाटा हु्ने काम गर्ने छुट कसैलाई नरहेको बताए । उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयमा जे पनि गर्न पाइन्छ ? मुलुक र जनतालाई घाटा लाग्ने काम गर्न पाइन्छ ? यो त मुलुक हो नि । व्यक्ति त आउने जाने गर्छ नि । मुलुक रहन्छ नि, मुलुकलाई घाटा हुने काम गर्न पाइन्छ ? कारबाही सबैलाई हुनुपर्छ, एउटालाई मात्रै होइन । मुलुकलाई बिगार्ने सबैलाई कारबाही हुनुपर्छ र जेल पनि अलि ठूलो गराउनुपर्छ ।’
नेपालको संवैधानिक निकाय, शिक्षा क्षेत्रलगायतमा नेताहरुले आफ्ना मान्छे र पार्टीका मान्छे खोजेको नेता भण्डारीको आरोप छ । सही मान्छे, सही ठाउँमा र सही समयमा राख्न आवश्यक रहेको उनले बताए ।
राजतन्त्र होस् वा प्रजातन्त्र ? प्रवृत्ति एउटै भयो । सत्तामा जाने, महँगा गाडी किन्ने, महँगो घर बनाउने, मोजमस्ती गर्ने, जनता धनी हुन्, मुलुक धनी होस् भन्ने कसैमा पनि देखिएन । व्यक्ति परिवर्तन भयो । तर, प्रवृत्ति र सोचाइमा कुनै परिवर्तन भएन ।




प्रतिक्रिया