गृहमन्त्रीको राजीनामाबाट ब्याक हुने प्रतिपक्षको संकेत, एकीकृत समाजवादीले राख्यो प्रस्ताव


काठमाडौं, २२ जेठ । प्रतिपक्षी दलहरु गृहमन्त्री रमेश लेखकको राजीनामाबाट ब्याक हुने संकेत देखिएको छ । आज (बिहीबार) बसेको प्रतिपक्षी दलको बैठकमा नेकपा (एकीकृत समाजवादी) ले गृहमन्त्री लेखकको राजीनामाबाट ब्याक हुन प्रस्ताव राखेको हो । एकीकृत समाजवादीले राजीनामाबाट ब्याक हुन र छानविनलाई भने प्राथमिकतामा राख्न प्रस्ताव गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

‘गृहमन्त्रीको राजीनामा नभई सदन चलाउन दिँदैनौं भन्नेखालको निर्णय गरेर हामी अगाडि नबढौं । यो छानविनको कुरालाई महत्व दिउँ । छानविन गर्न सरकार तयार भएर आउँछ भने गृहमन्त्रीको राजीनामालाई थाँती राखौं । हामीले यही कुरा राख्यौं । प्रतिपक्षका साथीहरु बीचमा छलफल भयो । छलफल सकारात्मक दिशामा गइरहेको छ । राजीनामा त स्थगित जस्तै भइसक्यो । मुख्य कुरा चाहीँ छानविनको रहेको छ । अख्तियारले छानविन गरिरहेको छ । यो बेलामा छानविन गर्न सकिँदैन । तर, हामी के चाहीँ भन्छन् भने गृहमन्त्रीले उत्तर दिने कुरामा प्रतिपक्षले जुन विषय उठाए, यो विषयको बारेमा सरकार गम्भीर छ । छानविन गर्न आवश्यक ठान्दछ,’– उपाध्यक्ष पाण्डेले भने ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षहरुले गत जेठ १३ गतेदेखि संसद् अवरुद्ध गरिराखेका छन् । भिजिट भिसा प्रकरणमा अहिले भइरहेको छानविन अख्तियारले छानविन सकेपछि २०६४ सालदेखिकै छानविनको लागि आयोग बनाएर छानविन गरिनुपर्ने बताए ।

‘यो छानविन चाहीँ अख्तियारले टुङ्गो लगाइसकेपछि २०६४ सालदेखि नै भिजिट भिसा प्रकरणबाट मानवतस्करी र आर्थिक अपचलन के–के भएका छन् । समग्र छानविन गरेर भविष्यमा त्यस्ता घटना हुन नदिनलाई के गर्ने हो भन्न एउटा नीतिगत निर्णय गर्ने र त्यसरी अहिलेको गलत क्रियाकलाप रोक्ने खालको पाटोबाट गइरहेको छ,’– उनले भने । File Photo/RN