काठमाडौं, २३ जेठ । नेकपा (एमाले) कि सचिव पद्मा अर्यालले पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउनुमा कुनै राजनीतिक प्रतिशोध नरहेको बताएकी छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब यो विषय अदालतमा प्रवेश गरिसकेकाले यसलाई कानुनी रुपमा नै निष्कर्षमा पुर्याइनुपर्ने बताएकी हुन् ।
‘जुनखालको त्यो जग्गा प्रकरणमा निर्णय गरियो, यो गैरकानुनी भयो भन्ने ढंगले उठेको प्रश्न हो । त्यही प्र्रश्नसित जोडिएर नियमनकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो घटनालाई मुद्दाको रुपमा अगाडि बढाएको छ । यो अहिले न्यायलयतर्फ अगाडि बढेको छ । त्यसैले आरोप लगाउनले के भन्छ, त्यो आफ्नो ठाउँमा छ । यो कुनै सरकारले गरेको निर्णय पनि होइन, नियमनकारी निकायको निर्णय हो । सरकारको निर्णय पनि होइन । अब न्यायलयमा विषय प्रवेश गरिसकेपछि कानुनी हिसाबले नै हेर्नु ठीक हुन्छ,’– उनले भनिन् ।
साथै, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूमाथि दायर भएको मुद्दालाई केपी शर्मा ओलीले प्रतिशोध साँधेको भनी दिएको अभिव्यक्तिको खण्डण गर्दै सचिव अर्यालले भनिन्, ‘प्रतिशोध भन्नु भनेको नियमनकारी निकाय र न्यायलयप्रतिको अपमान हो भन्ने मैले ठान्छुु । स्मरण गर्नुपर्ने कुरा के छ भने २०७६÷७७ सालमा नै अख्तियारले माधव नेपालको घरमा नै गएर उहाँको बयान लिएको सन्दर्भ छ । मुद्दा दर्ता उहाँलाई मात्रै भएको होइन । यो घटनाको चर्चा पहिलादेखि नै भएको छ । नियमनकारीले प्रश्न उठाएर प्रक्रिया अगाडि बढाइदिएको छ । अब न्यायलयको कुरा हो । गल्ती गर्ने अनि कानुन आकर्षित भएको विषयलाई राजनीतिक प्रतिशोध भन्नु सोभनीय होइन ।’
पतञ्जली जग्गा प्रकरणले साना–ठूला सबैलाई कानुन बराबर हो भन्ने कुरा पुष्टि गरेको उनको दाबी छ । ‘ठूला–साना सबैलाई कानुन बराबरी आकर्षित हुन्छ है भनेर यसले सकारात्मक सन्देश प्रवाह गरेको छ,’– उनले भनिन् ।




प्रतिक्रिया