मौलापुर नगरपालिकालाई ‘बेष्ट म्युनिसिपालिटी अन एजुकेशन अवार्ड (मधेश)’ प्रदान


पोखरा, २३ जेठ । रौतहटको मौलापुर नगरपालिका प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको छ । पानले प्रत्येक वर्ष प्रदान गर्ने वर्षको उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डको आधारमा मूल्यांकन गर्दा मेयर रिनाकुमारी साह नेतृत्वको मौलापुर नगरपालिका मधेश प्रदेशकै उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ ।

पर्यटकीय नगरी पोखरामा आयोजित पानको दोस्रो राष्ट्रिय सम्मेलन–२०८२ को अवसरमा मेयर साहलाई यो उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाल सरकारका शिक्षामन्त्री रघुजी पन्तले मेयर साहलाई प्रदान गरेका हुन् ।

मौलापुरको नगर विकास बजेटको ५० प्रतिशत शिक्षामा लगानी गरि नगर प्रहरीको सट्टा नगर शिक्षक राखेर शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गरिएको छ । एसईई परीक्षामा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको मौलापुर नगरपालिकालाई आज यस प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो । सम्मेलनमा देशभरिका शिक्षाविद्, नीति निर्माता, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीलगयात एक सयभन्दा बढिको सहभागिता रहेको थियो ।