भिजिट भिसा प्रकरण छानविन हुनुपर्छ, माओवादीका नेताहरू पर्छन् भने पनि परून्ः महासचिव गुरुङ


काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले भिजिट भिसा प्रकरण छानविन हुनुपर्नेमा आफूहरु दृढ रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा जोसुकै परेपनि भिजिट भिसा प्रकरण छानविन गरेर दोषीलाई कानुनी कारबाही गरिनुपर्ने बताएका हुन् ।

‘को पर्छ, को पर्दैन भन्ने कुरा होइन । यहाँ जो पनि पर्न सक्छ । सुशासनको लागि छानविन गर्दै जाने क्रममा कानुनविपरीत, अनियमिततापूर्वक काम भएको रहेछ भने जोसुकै पनि पर्न सक्छ । सुशासन चाहने हो भने अरु कसैको लागि परोस्, आफ्नो लागि नपरोस् भनेर हुँदैन । अहिलेको सरकारले अरु परुन्, आफ्ना कोही नपरुन् भनेर पक्षपातपूर्ण ढंगबाट कामकारबाही गरेको, रबैया देखाएको जस्तो होइन,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले अग्नि सापकोटाविरुद्ध मुद्दा अगाडि बढाउन सर्वोच्च अदालतले दिएको आदेश संक्रमणकालीन न्यायको बाटोबाट टुङ्ग्याउनुपर्ने बताए । नियमित अदालतमा उक्त विषय उठान गरिनु शान्ति सम्झौताको विपरीत हुने उनको धारणा छ । काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा सापकोटाविरुद्ध परेको मुद्दा अगाडि बढाउन केही दिनअघि सर्वोच्चले आदेश जारी गरेको थियो । राजतन्त्र समाप्त हुनु र सामन्तवादको अन्त्य हुनुमा माओवादी जनयुद्ध नै कारक रहेको उनको दाबी छ ।

सोही आदेशको प्रसंगमा नेता गुरुङले भने, ‘त्यो द्वन्द्वकालीन प्रश्न हो । द्वन्द्वकालीन प्रश्न भनेको राजनीतिक मुद्दा हो । कुन चाहिँ युद्ध रक्तपातविहीन भएका छन् ? त्यसो हो भने किन बृहत शान्ति सम्झौता गरियो त माओवादीसँग ?’