- सदरे आलम
काठमाडौं, २४ जेठ । आज इस्लाम धर्मावलम्बी (मुस्लिम) हरुको दोस्रो मुख्य चाड इद–उल–जोहा । यस पर्वलाई बक्रइद (बकरिद) पनि भनिन्छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन यो पर्व मनाइन्छ । बक्रइद पर्वमा कुर्वानीको पर्व पनि भनिन्छ ।
बकरैद पैगम्बर हजरत इब्राहीम (अलैहिस्सलाम) लाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई कुर्वानी दिन तयार भएको प्रसंग यस पर्वसँग सम्बन्धित छ । साँच्चै आफ्नो छोरालाई कुर्वानी दिन तयार भएको देखेर अल्लाहले एक भेडाको कुर्वानी गर्न भनेको प्रसंग छ । त्यसैले बक्रइदमा पशु कुर्वानी परम्परा छ । यो कुर्वानी अल्लाहमा समर्पित गरिन्छ ।
इस्लाम धर्मावलम्बीहरु बक्रइदलाई विश्वास र समर्पणको परिक्षाको रुपमा समेत लिन्छन् । हजरत इब्राहीमले अल्लाहप्रति अटल विश्वास देखाएर आफ्नो प्रियतम छोरासमेत बलि गर्न तयार भएको कुरा मुस्लिम धर्ममा गहिरो रूपमा आदर्श मानिन्छ । आजको दिन जनावरको बध गरेर मासु तीन भागमा बाँडिन्छ । तीन भागमा बाँडिएको मासु एक भाग आफैंका लागि, एक भाग आफन्त र छिमेकीका लागि र बाँकी रहेको एक भाग गरिब र असहायहरुका लागि छुट्याइन्छ ।
विहान विशेष नमाज (ईदको नमाज) एक–अर्कालाई ‘ईद मुबारक’ भनी शुभकामना दिने, जनावरको कुर्बानी गर्ने, सामूहिक भोज गर्ने, दान, सहायता र भाईचाराको भावना फैलाउने कार्य गर्ने गरेर बकरैद मनाइन्छ । नेपालको रौतहट जिल्लामा मुस्लिमहरूको जनसंख्या उल्लेखनीय छ ।
हज यात्रासँगको सम्बन्ध
बक्रइद हजको अन्तिम दिनमा पर्छ। हज इस्लाम धर्मका पाँच स्तम्भहरूमध्ये एक हो । जुन प्रत्येक सक्षम मुस्लिमले जीवनमा कम्तीमा एकपटक साउदी अरेबियाको मक्कामा गएर पुरा गर्नुपर्छ।




प्रतिक्रिया