कार्यकर्ताको बीचमा माधव नेपालको बयानः मैले भ्रष्टाचारजन्य कार्य गरेकै छैन


काठमाडौं, २४ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूले कुनै पनि भ्रष्टाचारजन्य कार्य नगरेको बताएका छन् । पार्टीको मधेश प्रदेश सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले विगतदेखि नै ‘नविराउनु, नडराउनु’ भन्दैआएको र डराउन आवश्यक पनि नरहेको बताएका हुन् । उनले अहिले आफूमाथि आइपरेको चुनौतीको डटेर सामना गरिने पनि बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालविरुद्ध काभ्रेको साँगमा रहेको पतञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उक्त जग्गाको विषयमा आफूले गलत मनशाय र स्वार्थ बाँझिनेगरी कुनै पनि काम नगरेको अध्यक्ष नेपालले बताए ।

‘मैले भन्दैआएको छु– नविराउनु, नडराउनु । कुनै गलत काम गरिएको छैन भने, भ्रष्टाचारजन्य काम गरिएको छैन भने आत्तिनुपर्ने छैन । चुनौति आइलागेको छ, चुनौतीको सामना गर्ने हो । कोहीकोही मान्छेहरु चुनौती देखेर आत्तिन्छन्, भाग्छन् मैदान छाडेर । हामीले मैदान छाडेर भाग्ने होइन । चुनौतीको सामना गर्ने हो दृढताको साथ । न्याय र सत्यको पक्षमा उभिएर असल मनशायको साथ कुनै काम गरिएको छ भने, मनशाय राम्रो छ भने उद्देश्य असल छ भने आत्तिनुपर्ने कुनै आवश्यकता छैन । भ्रष्टाचारको उद्देश्य छ भने, आफ्नो स्वार्थ जोडिएको छ भने स्वभाविक रुपमा त्यो गलत हुन्छ । निन्दनीयमात्रै होइन, दण्डनीय पनि हुन्छ । म तपाईँहरुलाई ढुक्क पार्न चाहन्छु– मबाट कुनै पनि भ्रष्टाचारजन्य काम भएको छैन,’– उनले भने ।

उनले आफूलाई नेपाली जनता र अदालतले न्याय दिने विश्वास व्यक्त गर्ने गर्नेछ । एकीकृत समाजवादीले देशमा कानुनको शासन कायम होुस् भन्ने चाहना राख्ने पार्टी रहेको पनि उनले बताए । आफूहरुले देशकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन चाहेको पनि अध्यक्ष नेपालले बताए । समानता, न्याय र समृद्धिलाई केन्द्रविन्दुमा राखेर आफूहरु अगाडि बढिरहेको उनले बताए । File Photo/RN